धमाधम खुल्न थाले पसल, लकडाउन अवज्ञापछि सरकार संकटमा

काठमाडौं , जेठ २२ । सरकारले घोषणा गरेको लकडाउनको उल्लघन गर्दै उपत्यकाभित्र पसलहरु खोल्न थालेका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघले पसलहरु खोल्ने निर्णय गरेको थियो। आज बिहानै व्यवसायीहरु न्यूरोड, चावहिल, कोटेश्वर लगायत क्षेत्रमा पसलहरु खुलेका छन्।

उपत्यकाभित्र यसरी पसलहरु खुल्न थालेपछि स्थानीय प्रशासनलाई थप समस्या परेको छ। उपत्यकाभित्रका तीनवटै स्थानीय प्रशासनले छलफलका लागि बैठक बोलाएका छन्। सरकारले मोडालिटीविनै लकडाउनको म्याद थपिरहेपछि जनस्तरबाटै अवज्ञा सुरु भएको छ । पहिलोपटक सरकारको निर्णयलाई चुनौती दिँदै जनताले आफ्ना व्यापार व्यवसाय आंशिक सुरु गरेका हुन् ।
काठमाडौंका व्यापारी व्यवसायीले बिहानदेखि ११ बजेसम्म सबै बजार र पसल खोलेका छन् ।

अन्य दिनको तुलनामा बिहीबार काठमाडौं उपत्यकाका सडकमा सवारीसाधन धेरै नै गुडेका छन । सातदोबाटो, चाबहिल, कोटेश्वर, ग्वर्को, थापाथलीमा पाँचदेखि दस मिनेटसम्म ट्राफिक जाम देखिएको थियो ।

जनस्तरबाटै लकडाउनको अवज्ञा भएपछि सरकार संकटमा परेको छ । लकडाउनलाई कसरी कडाई बनाउने भन्ने विषयमा छलफल गर्न बिहीबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ ।

बैठकले राजधानीमा लकडाउनलाई कसरी प्रभावकारी बनाउने, नागरिकलाई कोरोना भाइरसको संक्रमण फैलिन नदिन कस्ता सुरक्षा सतर्कता अपनाउने भन्ने विषयमा छलफल गर्ने भएको छ ।त्यस्तै आज दिउँसो नै लकडाउनको विषयमा छलफल गर्ने मन्त्रिपरिषद्को बैठक समेत बोलाइएको छ।
काठमाडौं र ललितपुर महानगरले पनि बजार कसरी खुलाउने र कति समयसम्म खुलाउने भन्ने बारे नयाँ मोडालिटी बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्