दवावमा रहेको प्रशासन उपत्यकामा लकडाउन खुकुलो बनाउन तयार

काठमाडौँ , जेठ २२ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्लासहित सरोकारवाला निकाय लकडाउन खुकुलो बनाउन तयार भएको छ । उद्योगी तथा व्यापारीहरुले लकडाउन उल्लघंन गर्दै व्यवसाय सञ्चालन गर्न थालेपछि दवावमा रहेको प्रशासन लकडाउन खुकुलो बनाउन तयार देखिएको हो ।

बिहीबार जिल्ला समन्वय समिति काठमाडौँको हलमा बसेको संयुक्त बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० सहित सरोकारवाला लकडाउन खुकुलो बनाउन तयार भएका हुन् ।

संयुक्त बैठकले गृह मन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठन गरिएको उच्चस्तरीय समितिलाई उपत्यकामा लकडाउन खुकुलो बनाउन सिफारिस गर्ने निर्णय गरेको भक्तपुरकी सिडिओ हुमकला पाण्डेले बताइन् ।

सार्वजनिक यातायात, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी लकडाउन खुकुलो बनाउन उच्चस्तरीय समितिलाई सिफारिस गरिने पाण्डेको भनाइ छ ।

बैठकले गरेको निर्णय उच्चस्तरीय समितिमा पठाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जिम्मा दिइएको छ ।

चैत ११ गतेदेखि गरिएको लकडाउनले जनजीवन प्रभावित भएको बेला उद्योगी तथा व्यवसायीहरुले उपत्यकामा बिहीबारदेखि पसल खोलेर सञ्चालन गरेका थिए । त्यसपछि प्रशासनमाथि दवाव बढेको थियो ।

बैठकमा काठमाडौँ, भक्तपुर र ललितपुरका सिडिओसहित चारवटै सुरक्षा निकायका जिल्ला प्रमुख, जिल्ला समन्वय समिति र स्थानीय तहका पदाधिकारहरु समेत सहभागी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्