असार १ गतेपछि ६ चरणमा लकडाउन खुकुलो बनाइने , यस्तो छ खाका

काठमाडौं, जेठ २३ । सरकारले असार एक गतेपछि विभिन्न ६ चरणमा ७० दिनमा चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड नाइन्टिन क्राइसिस म्यानेजमेन्ट सेन्टर ‘सीसीएमसी’ ले लकडाउन खोल्ने विस्तृत स्वरुप तयार पारेको हो ।

पछिल्लो पटक थपिएको जेठ ३२ सम्मको लकडाउन सकिएपछिका ७० दिनभित्र आंशिक र सम्पूर्णरुपमा लकडाउन खोल्ने गरी स्वरुप तयार भएको हो । जनजीवन, आर्थिक गतिविधिको निरन्तरता र नियमितताको सन्तुलन राख्न लकडाउनको हालको स्वरुप परिवर्तन गर्न लागिएको हो ।

असार १ पछिको २ हप्तालाई पहिलो चरणको रुपमा लिइएको छ । पहिलो चरणमा कृषि, दैनिक उपभोग्य सामाग्री वितरक केन्द्रहरु खोलिने उल्लेख छ । असार १ गतेपछि आंशिक रूपमा हवाइ उडान सुरु गर्ने प्रस्ताव छ । दैनिक उपभोग्य सामग्री विक्री वितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा सञ्चालनमा ल्याउने प्रस्ताव छ । तर अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइराख्ने भएको छ ।

दोस्रो चरणमा स्वास्थ्य संस्था, अनलाइन मिडिया, राहत सहायता केन्द्रहरू खुला गर्ने योजना छ । यस्तै, जीमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालय भने आंशिक रूपमा मात्रै खोल्न दिन प्रस्ताव गरिएको छ ।

तेस्रो चरणमा निजी सवारी साधन सञ्चालन गर्न दिने योजना छ । सवारी साधान सुरक्षात्मक उपाय अवलम्बन गरी जोर र विजोर नम्बर प्रणालीका आधारमा निजी सवारी साधन व्यवस्थापन गरिने छ । लामो दूरीका सार्वजनिक यातायात तथा हवाइ उडान सेवा पनि सुरु गर्न प्रस्ताव गरिएको छ ।

चौथो चरणमा संक्रमितको आधारमा संक्रमित जिल्ला र संक्रमण रहित जिल्ला छुट्याई संक्रमण रहित जिल्लामा शिक्षा क्षेत्र बाहेक अन्य क्षेत्रमा सामाजिक दूरी कायम गरी लकडाउन हटाउने उल्लेख छ । यो चरणमा धार्मिक, जमघटस्थलबाहेक सबै ठाउँ खुला हुनेछन । बाह्य उडान भने आशिंक रुपमा चल्न दिइने छ ।

पाँचै चरणमा विद्यालय, विश्वविद्यालय, मनोरञ्जन र निर्माण क्षेत्रसँग सम्बन्धित सेवाहरू, सूचना तथा संचार, बैकिंङ् तथा वित्तिय संस्था, खेलकुद, धार्मिक स्थल, सरकारी तथा निजी कार्यालय संचालन गर्ने योजना छ । घरेलु तथा साना उद्योग, अन्य ठूलो उद्योग र कलकारखाना, विकास निर्माण कार्य तथा राष्ट्रिय गौरवका आयोजनामा काम गर्ने लगायत सबै खुला हुनेछन् ।

संक्रमणको अवस्था हेरेर पहिला जिल्लागत र त्यसपछि स्थान विशेषलाई ‘प्रभावित’, ‘अतिप्रभावित’ र ‘सामान्य’ वर्गीकरण गर्न सकिने प्रस्ताव छ । क्षेत्र छुट्याउँदा कोरोना भाइरसकोको प्रकोप नियन्त्रण गर्न सजिलो हुने ‘सीसीएमसी’को अनुमान छ । दुई–दुई हप्तामा मोडालिटी परिवर्तन गर्दै जनजीवन सहज बनाउन प्रस्ताव गरिएको छ ।

सुरुका दुईहप्ता केही सेवाप्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको स्वरुप दोस्रो तहमा लैजाने योजना छ । निश्चित स्थान र समयका लािग आंशिक रुपमा लकडाउन लगाई मुख्य क्रियाकलापहरु खुल्ला गर्दै जोखिम प्रतिकार्यमा जुट्ने पनि प्रस्ताव छ । त्यस्तै क्रमिक रुपमा खुकुलो गर्दै जाने र लकडाउन रहितको स्वरुप– सुरक्षा सावधानी अपनाएर लकडाउन हटाउने पनि‘सीसीएमसी’को योजना छ ।

प्रतिक्रिया दिनुहोस्