असारभित्र संक्रमित ४० हजार पुग्ने अनुमान, त्यसै अनुसार तयारी थाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं, असार ४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार मसान्तभित्र कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित संख्या ४० हजार पुग्नसक्ने आन्तरिक प्रक्षेपण गरेको छ। मन्त्रालयले ४० हजार संक्रमित पुग्नसक्ने भन्दै त्यसै अनुसार तयारी थाल्न मार्गदर्शन बनाएको छ।

मन्त्रालयले तयार पारेको कोभिड–१९ महामारी व्यवस्थापनका लागि भौतिक स्रोत पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शनमा ४० हजार संक्रमितमध्ये ८० प्रतिशत अर्थात् ३२ हजारमा कुनै लक्षण तथा असर नदेखिने भएकाले उनीहरुलाई होम क्वारेन्टिन वा होम आइसोलेसनमा राख्नुपर्ने उल्लेख छ। त्यस्तै १५ प्रतिशत संक्रमित अर्थात् ६ हजारजनालाई अस्पताल केयर, आइसोलेसन बेड र ५ प्रतिशत अर्थात् २ हजारजनालाई सघन उपचार चाहिने प्रक्षेपण गरिएको हो।

मार्गदर्शनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउनेमध्ये संक्रमणको लक्षण नभएकालाई होल्डिङ गर्ने तथा सम्बन्धित स्थानीय तहसम्म पु¥याउने काम सम्बन्धित प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले गर्ने भनिएको छ। त्रिभुवन विमानस्थलबाट आउनेमध्ये संक्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा राखिने छ। त्यस्तै स्थलगत सीमानाकाबाट भित्रिने तर संक्रमणको लक्षण नभएकालाई पनि होल्डिङ गर्ने तथा सम्बन्धित स्थानीय तहसम्म पु¥याउने कार्य सम्बन्धित प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले गर्ने र संक्रमणको लक्षण देखिएकालाई आइसोलेसनमा राखिनेछ।

स्थानीय तहले बाहिरबाट आएका व्यक्ति तथा सम्बन्धित स्थानीय तहभित्र नै शंकाको दायरमा रहेका व्यक्तिलाई आवश्यकता अनुसार क्वारेन्टिन, होम क्वारेन्टिन। आइसोलेसन, सामूहिक आइसोलेसनमा राख्ने व्यवस्था गर्नुपर्नेछ। होम क्वारेन्टिन तथा आइसोलेसनमा रहेका व्यक्तिसँग समन्वय, सम्पर्क गर्न तथा उनीहरूलाई आवश्यक स्वास्थ्य सल्लाह दिन स्वास्थ्यकर्मी व्यवस्थापन पनि सम्बन्धित स्थानीय तहले गर्नुपर्नेछ। क्वारेन्टिन तथा आइसोलेसनमा रहेका व्यक्तिलाई संक्रमणको मध्यम र जटिल लक्षण देखिए उपचारका लागि अस्पताल लैजाने तथा ल्याउने व्यवस्था पनि स्थानीय तहले मिलाउने र उपचार व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्ने मार्गनिर्देशनमा उल्लेख छ।

सीमानाकाबाट भित्रिनेको स्वास्थ्य परीक्षण, कन्ट्याक्ट टे«सिङ र नमुना संकलन कार्य सम्बन्धित स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले मिलाउनुपर्नेछ।

स्वास्थय मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोभिड–१९ महामारी व्यवस्थापनका लागि भौतिक स्रोत पहिचान तथा जनशक्ति व्यवस्थापन मार्गदर्शन बनेको आफूले सुनेको बताए। मार्गदर्शनबारे आफूले बुझेर मात्र विस्तृतमा बताउन सक्ने उनले बताए।

जनशक्ति व्यवस्थापन

संक्रमित बढेपछि होम क्वारेन्टिन तथा आइसोलेसनमा रहेका व्यक्तिहरुसँग समन्वय सम्पर्क, उनीहरूलाई आवश्यक स्वास्थ्य सल्लाह दिन शंकास्पद तथा संक्रमण प्रभावित प्रत्येक वडामा कम्तीमा प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, स्वास्थ्य परिचारिका दुई र सहयोगी दुईसहित पाँचजना जनशक्ति आवश्यक पर्ने प्रक्षेपण छ।

सामूहिक क्वारेन्टिनमा दुई सय बेडका लागि प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, स्वास्थ्य परिचारिका दुई र सहयोगी एकसहित पाँचजना, दुई सय एकदेखि पाँच सय बेडसम्मका लागि प्यारामेडिक एक, नर्सिङ स्टाफ एक, स्वास्थ्य परिचारिका दुई र सहयोगी एकसहित पाँचजना तथा एक सय बेडका लागि प्यारामेडिक दुई, नर्सिङ स्टाफ दुई, स्वास्थ्य परिचारिका दुई र सहयोगी एकसहित सातजना जनशक्ति आवश्यक पर्ने स्वास्थ्यको अनुमान छ। त्यस्तै पाँच सय बेडभन्दा माथि प्यारामेडिक तीन, नर्सिङ स्टाफ तीन, स्वास्थ्य परिचारिका दुई र सहयोगी दुईसहित १० जना जनशक्ति आवश्यक रहने अनुमान छ।

त्यस्तै सामूहिक आइसोलेसनमा ५० बेडसम्मका लागि प्यारामेडिक दुई, नर्सिङ स्टाफ दुई, स्वास्थ्य परिचारिका दुई र सहयोगी एकसहित सातजना र ५१ देखि एक सय बेडसम्मको सामूहिक आइसोलेसनका लागि प्यारामेडिक चार, नर्सिङ स्टाफ चार, मेडिकल अफिसर र सहयोगी एकसहित १० जना आवश्यक पर्ने प्रक्षेपण छ।

वडाका सामूहिक क्वारेन्टिन तथा आइसोलेसन केन्द्रको आर्थिक, प्रशासनिक र व्यवस्थाका लागि स्थानीय तहमै मेडिकल अधिकृत एक, प्यारामेडिक एक, नर्सिङ स्टाफ १ र सहयोगी एकसहित चारजना आवश्यक पर्ने मार्गदर्शनमा उल्लेख छ।

प्रदेशले व्यवस्थापन गरेका सामूहिक क्वारेन्टिन तथा आइसोलेसन केन्द्रका लागि प्रतिसयजना व्यक्तिबराबर विशेषज्ञ चिकित्सक एक, मेडिकल अधिकृत एक, प्यारामेडिक एक, नर्सिङ स्टाफ दुई, ल्याब टेक्निसियन एक, जन स्वास्थ्य परिचारिका दुई, सहयोगी एक र सरसफाइ कर्मचारी चासहित १३ जनशक्ति आवश्यक पर्ने प्रक्षेपण छ।

अस्पतालमा आवश्यक जनशक्ति

लक्षण र असर देखिएका संक्रमितलाई अस्पतालमा भर्नागरी उपचारमा आवश्यक पर्ने जनशक्तिमा २० बिरामीका लागि जिपी, रेसिडेन्ट, इन्टरनल मेडिसिन एकजनाका दरले ३ सिफ्टमा मेडिकल अधिकृत ३ जना, १५ जना बिरामीका लागि क्रिटिकल केयर तालिम प्राप्त एकजनाका दरले तीन सिफ्टमा प्यारामेडिक तीनजना, पाँचजना बिरामीका लागि नर्सिङ स्टाफ एकजनाका दरले तीन सिफ्ट ल्याब टेक्निसियन दुईजना र सहयोगी एकजना लाग्ने अनुमान छ।

अस्पतालमा सघन उपचार कक्षमा भर्नागरी उपचार दिन पाँच भेन्टिलेटरका लागि जिपी, रेसिडेन्ट, इन्टरनल मेडिसिन एकजनाका दरले तीन सिफ्ट गर्नुपर्ने सुझाव छ। १० भेन्टिलेरटरका लागि मेडिकल अधिकृत एकजना, तीन भेन्टिलेटरका लागि एनेस्थेटिक एकजनाका दरले तीन सिफ्ट र प्यारामेडिक दुईजना आवश्यक पर्नेछ। एक भेन्टिलेटरका लागि नर्सिङ स्टाफ एकजनाका दरले तीन सिफ्ट, ल्याब टेक्निसियन दुईजना र सहयोगी दुईजना लाग्ने अनुमान छ।

तीनवटै तहले जनशक्ति व्यवस्थापन गर्दा दरबन्दीका सबै कर्मचारी परिचालन गर्ने, किरियाबाहेक कर्मचारीलाई कुनै पनि बिदा नदिने, अध्ययन बिदामा रहेका कर्मचारीलाई बोलाएर काममा लगाउने भनिएको छ। स्थानीय तहले प्रदेशसँग र प्रदेशले केन्द्रसँग अपुग कर्मचारी माग गर्नुपर्नेछ। स्वास्थ्य विज्ञान प्रतिष्ठान र छात्रवृत्तिमा अध्ययनरत जनशक्ति परिचालन गर्ने र त्यसले पनि अपुग भए करारमा लिने मार्गदर्शनमा छ। नागरिकदैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस्