थप दुई जना कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या २२ पुग्यो

काठमाडौं, असार ४ । कोरोना संक्रमण देखिएका थप दुई जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या २२ पुगेको छ।

गोदावरी नगरपालिका ४ कैलालीका ४६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको बुधबार साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्यमा समस्या आएपछि उनी धनगढीको नवजीवन अस्पतालमा उपचारका लागि पुगेका थिए। जेठ ३१ गते कोरोना पुष्टि भएपछि उनलाई सेती अस्पतालमा सारिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। उनको उपचारका क्रममा नै मृत्यु भएको डा गौतमले जानकारी दिए।

यस्तै, लम्कीजुहा २ कैलालीकी एक ४२ वर्षीय महिलाको पनि मृत्यु भएको छ। टाउकोमा चोट लागेर शवड्युरल हेमाटोमा भएकी उनी जेठ ३१ गते नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल भर्ना भएकी थिइन्।

उनको शल्यक्रिया गर्नुअघि असार २ गते स्वाब संकलन गरिएको थियो। तर उनको रिपोर्ट नआउँदै असार २ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ। मृत्युपछि असार ३ गते आएको रिपोर्टमा उनको कोरोना पोजेटिभ भेटिएको छ।

प्रतिक्रिया दिनुहोस्