कोरोना महामारी : विश्वभर संक्रमितको संख्या झण्डै १ करोड !

काठमाडौं , असार १३ । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वमा झण्डै एक करोड मानिस संक्रमित भएका छन् ।

पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट विश्वका २ सय १५ मुलुकका ९८ लाख ९८ हजार २ सय १४ जना संक्रमित पुगेका छन् । यो समाचार तयार पार्दासम्म ४ लाख ९६ हजार ७७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

विश्वभरका संक्रमितमध्ये ५३ लाख ५० हजार ९ सय जना कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ९३ हजार ८ सय ५७ पुगेको छ । यीमध्ये ४ हजार ८ सय ९१ जनाले कोरोनाका कारण २४ घण्टामा ज्यान गुमाएका छन् ।

सयुंक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा ४७ हजार नयाँ संक्रमित थपिएका छन् । विज्ञहरुले अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या २ करोड पुगेको अनुमान गरेका छन् ।

यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । ब्राजिलमा १२ लाख ८० हजार ५४ जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा मात्र ४६ हजार ९ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ब्राजिलमा हालसम्म ५६ हजार जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो अपडेट अनुसार रसियामा कोरोना संक्रमितको संख्या ६ लाख २० हजार पुगेको छ । रसियामा ८ हजार ७ सय जना संक्रमितले ज्यान गुमाएका छन् भने ३ लाख ८४ हजार संक्रमित निको भइसकेका छन् ।

एसियाली मुलुक भारतमा पनि कोरोना संक्रमितको संख्यामा बृद्धि भएको छ । भारतमा ५ लाख ९ हजार जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म भारतमा १५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ सय ८१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

भारतमा निको भएर घर फर्किनेको संख्या २ लाख ९५ हजार पुगेको छ ।युरोपेली देशमध्ये रसियामा सबैभन्दा धेरै संक्रमित देखिएका छन् । यस्तै बेलायत, स्पेन, इटली, जमनी र फ्रान्समा पनि कोरोना संख्या धेरै छ ।

युरोपेली मुलुकमा २३ लाख ८८ हजार ६ सय ९४ जनामा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १५ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ सय बढीले ज्यान गुमाएका छन् । यी मुलुकहरुका १३ लाख २६ हजार ७ सय ३३ जना निको भएर घर फर्किएका छन् भने १ लाख ९० हजारले ज्यान गुमाएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमध्ये सधैभन्दा प्रभावित मुलुक सयुंक्त राज्य अमेरिका देखिएको छ । त्यसपछि मेक्सिको र क्यानडामा पनि संक्रमितको संख्या धेरै देखिएको छ ।

मेक्सिकोमा २ लाख बढीमा कोरोना संक्रमण देखिएको छ भने क्यानडामा १ लाख बढीमा कोरोना पुष्टि भएको छ ।

उत्तर अमेरिकी मुलुकमा २९ लाख ६९ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पछिल्लो २४ घण्टामा ५७ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा यी मुलुकका १ हजार ४ सय जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

एसियाली मुलुकमा सबैभन्दा बढी संक्रमित देखिएको देश भारत हो । भारतपछि इरान, पाकिस्तान, टर्की, साउदी अबर र बंगलादेशमा पनि कोरोना संक्रमितको संख्या उच्च छ ।

यो समाचार तयार पार्दासम्म एसियाली मुलुकमा २१ लाख १८ हजार जनामा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो २४ घण्टामा ४५ हजार ५ सय जना संक्रमित थपिएका छन् ।

एसियाली मुलुकमा ५२ हजार संक्रमितले ज्यान गुमाइसकेका छन् । यस्तै १३ लाख ७१ हजारभन्दा बढी निको भइसकेका छन् ।

यस्तै दक्षिण अमेरिकी मुलुकमा २० लाख ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने पछिल्लो २४ घण्टामा थप ६३ हजारमा जनामा कोरोना पोजेटिभ देखिएको छ ।

नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या २७ पुगेको छ । शुक्रवार साँझसम्मको अपडेट अनुसार नेपालमा ११ हजार ७ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनालाई जितेर २ हजार ६ सय ९८ जना नेपाली घर फर्किएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्