विश्वभर कोरोना संक्रमितको संख्या एक करोड, मृतकको संख्या पाँच लाख नाघ्यो

काठमाडौं, असार १४ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नाघेको छ । यसैगरी मृतकको संख्या पनि पाँच लाख नाघेको छ ।

कोरोना भाइरससम्बन्धि तथ्यांक राख्दै आएको वर्ल्डोमिटर डट इन्फोका अनुसार साढे ५४ लाख व्यक्ति निको भएका छन् । ५७ हजार व्यक्ति भने गम्भीर अवस्थामा रहँदा ४१ लाखभन्दा बढीमा कोरोनाको विषाणु सक्रिय रहेको छ ।

सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा २५ लाख ९६ हजार व्यक्ति संक्रमणको चपेटमा परेका छन् । त्यहाँ १ लाख २८ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

दोस्रो स्थानमा रहेको ब्राजिलमा १३ लाख १५ हजार संक्रमित हुँदा मृतक ५७ हजार नाघेको छ । संक्रमितको संख्यामा तेस्रो स्थानमा रहेको रुसमा ६ लाख २७ हजार पुग्दा मृतक भने नौं हजार पुगेको छ ।

चौथो स्थानमा रहेको भारतमा ५ लाख २९ हजार संक्रमित हुँदा १६ हजार व्यक्तिको मृत्यु भएको छ । बेलायतमा ३ लाख १० हजार संक्रमित र साढे ४३ हजारको मृत्यु भएको छ । स्पेनमा २ लाख ९५ हजार व्यक्ति संक्रमित हुँदा २८ हजार मानिसको मृत्यु भएको छ । इटालीमा ३४ हजारको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्