भोलिदेखि सेयर बजार खुल्ने, घरमै बसेर कारोबार गर्न सकिने

काठमाडौं, असार १४ । लकडाउनका कारण पूर्ण रुपमा बन्द रहेको सेयर बजार भोलि सोमबारदेखि खुल्ने भएको छ।लकडाउन अवधिभर दुई दिनबाहेक अरु दिन ठप्प नै रहेको थियो ।

नेपाल धितोपत्र बोर्डको आइतबारको बैठकले सोमबारदेखि सेयर बजार सञ्चालन गर्ने निर्णय गरेको हो।

मुलुकमा लकडाउन सुरु भएसँगै चैत ११ बाट बन्द भएको सेयर बजार वैशाख ३० र ३१ गते २ दिन खुलेको थियो। त्यसपछि पुनः बन्द भएको सेयर बजारलाई व्यवस्थित रुपमा खोल्नुपर्ने दवाब बढेपछि बोर्डले खोल्ने निर्णय गरेको हो।

बोर्डले खोल्ने निर्णय गरे पनि के कसरी खोल्ने भन्ने मोडालिटीमा तय गर्न बाँकी छ। सेयर कारोबार अनलाइनबाट गर्न सकिने व्यवस्था गरिएकाले पहिलेजस्तै पूर्ण रुपमा बजार खुला हुने एक अधिकारीले बताए।

प्रत्येक सेयरधनीको आईपीएस आइडी हुने र उनीहरुले घरमै बसेर सबै काम गर्न सक्ने भएकाले सेयर बजार सञ्चालन गर्न अप्ठ्यारो नपर्ने उनको भनाइ छ।

मुलुकमा लकडाउन सुरु भएपछि सेयर बजार बन्द भएको थियो।

प्रतिक्रिया दिनुहोस्