कसैलाई हतारो हुँदैमा प्रधानमन्त्री पदबाट हट्दिनँ: केपी शर्मा ओली

काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रतिकूल परिस्थितिबाट देशलाई मुक्त नगराई प्रधानमन्त्री पदबाट नहट्ने बताएका छन्।

जननेता मदन भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले कसैलाई हतारो हुँदैमा जिम्मेवारी छोडेर नहिँड्ने बताए ।

चीनसँग पारवहन सम्झौता गरेर फर्किएपछि तत्कालीन सरकार ढलेको भए पनि अहिलेको परिवेश त्यस्तो नभएको ओलीको तर्क थियो।

‘अहिले नक्सा जारी भयो, संविधान संशोधन भयो, त्यस्तो अपराध गरेको भनेर अहिले सरकार ढाल्न भित्रभित्रै लागेका छन्,’ ओलीले भने, ‘नेपाल राष्ट्रियता यति कमजोर छैन, जसले प्रधानमन्त्रीलाई हटाउन सक्छ, त्यसैले कसैले हतारो नगरे पनि हुन्छ।’

ओलीले आफूलाई प्रधानमन्त्री पदमा बसिरहन मन नभएको दाबी गरे। उनले आफू हटेको भोलिपल्ट राष्ट्रियतामाथि खतरा उत्पन्न हुने जिकिर गरे।

‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहने मन छैन, तर म हटेपछि भोलिपल्ट देशका लागि कसैले बोल्ने छैन, अतिक्रमित भूमि फिर्ता त परको कुरा,’ ओलीले भने, ‘तर, नक्सा छाप्ने कुरा मात्रै होइन, फिर्ता नलिई छोड्दैनौं।’

नेपालमा सरकार परिवर्तन गर्नका लागि भारतीय राज्यसत्ता परिचालित भएको ओलीको दाबी छ। उनले भारतीय मिडियाले १०(१५ दिनमै नेपालमा सरकार फेरिने भनेर अफवाह फैलाएको टिप्पणी गरे।

भारतीय पक्षको प्रचारबाजीमा ‘केही’ नेपालीले नै साथ साथ दिएको आरोप ओली लगाए। प्रचार गरिएको जस्तो सरकार बदलिने सम्भावना नरहेको बताए।
ओलीले भारतले सन् १९६२ देखि कालापानीमा सेना राखेर त्यहाँ नेपालीको प्रवेश रोकेको बताए। ‘१९६२ देखि सेना राखेको छ, अनि कसरी जानेरु,’ ओलीले भने।

‘भारतको राज्यसत्ता अचम्मले परिचालित भएको छ, भारतीय मिडियाले १०(१५ दिनमै नेपालमा सरकार फेरिने गरेको तपाईहरूले सुन्नु भएकै छ,’ ओलीले भने, ‘नेपालका केही मान्छे उतैतिर लागेका छन्, नागरिकता नेपालको छ, तर्क उताको छ।’

प्रतिक्रिया दिनुहोस्