बदलिए बादल: छाडे प्रधानमन्त्रीको साथ,अब के गर्लान ओली ?

काठमाडौं, असार १८ । गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेका छन्।केपी ओली सरकार गठनयता प्रचण्ड समूह छोडेका थापा बादलले ओली समूह छोडेका हुन्।

गृहमन्त्री थापा पनि प्रधानमन्त्री ओलीलाई राजीनामा गराउनुपर्छ भन्ने पक्षमा आएपछि नेकपा सचिवालयमा राजीनामा माग्ने नेताहरूको संख्या छ पुगेको छ।

गृहमन्त्री भएदेखि नै प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका थापा अहिलेसम्म अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको भेलामा सहभागी थिएनन्। बुधबार भने झम्सिखेलस्थित एक होटलमा भएको प्रचण्ड-नेपालनिकट नेताहरूको भेलामा थापा सहभागी भए।

सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ प्रधानमन्त्रीको राजीनामा माग्ने पक्षमा थिए। सो समूहमा बुधबारदेखि गृहमन्त्री थापा पनि थपिएका हुन्।

सचिवालयमा अब ओलीको साथमा विष्णु पौडेल र ईश्वर पोखरेल मात्र भएका छन्।
उक्त भेलामा ३० जनाभन्दा बढी स्थायी समिति सदस्य सहभागी भएको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिए।

यसअघि वैशाख १७ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग हुँदा थापाले त्यसको विरोध गरेका थिए। दल विभाजनका लागि प्रक्रिया खुकुलो बनाउने अध्यादेश ल्याउँदा समेत उनले प्रधानमन्त्रीको कदमको बचाउ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्