प्रधानमन्त्री ओली किन छाड्न चाहँदैनन् पद ?

काठमाडौं, असार २० । प्रधानमन्त्री ओली अहिले दुईमध्ये एउटा पद छोड्दा आफू कमजोर भएको र गलहत्याइएको सन्देश जाने ठान्छन् । त्यसैले उनी आफ्नो अडानबाट हल्लिएका छैनन् । ‘दुई अध्यक्षबीच मात्रै या कमिटीमा सल्लाह भएको भए प्रधानमन्त्रीले सरकार छाड्न पनि सक्नुहुन्थ्यो तर अब छाड्नुुहुन्न,’ ओली निकट स्रोतले कान्तिपुरसँग भन्यो, ‘अब छाड्दा त जिम्मेवारी हस्तान्तरण गरेको भन्दा पनि गलहत्याइएको भन्ने सन्देश जान्छ । अलिअलि त इगोले पनि काम गर्छ नि ।’

ओलीले निकटस्थ नेताहरुसँग पनि अहिले सरकार छाड्दा त्यसको अर्थ छाडेको भन्दा पनि निकालिएको रुपमा बुझिने र आफ्नो मानसम्मान गुम्ने भएकाले त्यस्तो खालको कुरै नगर्न भनेका छन् । शुक्रबार दाहालसँग भएको बैठकमा समेत प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा नदिने भन्दै अरु विकल्प भए आफू कुरा गर्न तयार भएको बताएका थिए ।

‘अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिने कुरा सम्भव छैन, अहिले त्यो कुरै नगर्नुस्, त्यो बाहेक कुरा छन् भने गरौं,’ बैठकमा ओलीले दाहालसँग भने, ‘हैन भने पार्टी त करिब करिब फुटेकै छ, औपचारिकताका लागि भोलि मलाई कारबाही गुर्नस्, म नयाँ पार्टी घोषणा गर्छु ।’ ओलीले पार्टी एकता जोगाइ राख्ने मन भए आफ्नो टिममा आउन पनि दाहाललाई प्रस्ताव गरेका थिए ।

ओलीसँगको छलफलपछि आफू निकट सचिवालय सदस्यहरुसँग खुमलटारमा भएको छलफलमा उनको भनाइ उद्धृत गर्दै दाहालले भनेका थिए, ‘पहिले मसँग एकता गर्ने हो कि माधव नेपालसँग गर्ने हो त्यो निधो गर्नुुस् । एकता गर्ने भए मेरो टिममा आउनुस्, पार्टी फुटाउने भए माधव नेपालको टिममा बस्नुस् । पार्टी एकता गर्ने हो कि फुटाउने हो, फैसला तपाईंकै हो ।’ ओली कड्किएपछि बैठकमा सहभागी महासचिव विष्णु पौडेलले सहजीकरण गर्न खोजेका थिए । उनले मंसिर ४ मा भएको सहमतिलाई पुनर्व्याख्या गरेर अघि बढ्नुपर्ने बताएका थिए ।

‘अरु कता कता के के गर्न सकिन्छ सोचौं, कार्यकारी अध्यक्षको भूमिकालाई व्याख्या गरौं, मंसिर ४ को सहमतिअनुसार अघि बढौं,’ बैठकमा महासचिव पौडेलको प्रस्ताव थियो, ‘दुई अध्यक्षकै बीचमा सहमति हुनुपर्‍यो ।’ तर यो प्रस्तावमा अध्यक्ष दाहाल र नेता शर्मा सहमत हुन सकेनन् । पौडेलले भने अध्यक्षद्वयबीचको संवाद सकारात्मक रुपमा अघि बढेको दाबी गरे । ‘दुई अध्यक्षबीच मन माझामाझ भयो, बैठक सकरात्मक रुपमा अघि बढेको छ, छिट्टै निकास निस्किन्छ,’ उनले भने ।

दाहालले पार्टी कमिटीमा व्यापक कुरा उठिसकेकाले अब प्रधानमन्त्रीले निकास दिनुपर्ने बताए । वरिष्ठ नेता झलनाथ खनालले दिनभरिमा सहमति जुटाउने भनिए पनि अध्यक्षद्वयबीच कुरा मिलि नसकेको खबर पाएको बताए । शुक्रबार साँझको खुमलटार बैठकपछि कान्तिपुरसँग कुरा गर्दै खनालले भने, ‘उहाँहरुबीच करिब ४ घण्टा कुरा भएछ तर केही पनि मिलेनछ, केपीजीले राजीनामा दिन्न भन्नुभयो, दाहालले निकास दिनुस् भन्नुभयो, सारमा कुरा यत्ति हो ।’ उनले आफूले अब स्थायी कमिटी बैठकलाई दृढतापूर्वक अघि बढाउन र बैठकबाटै निकास खोज्न अध्यक्ष दाहाललाई आग्रह गरेको बताए । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिबार बिहान अध्यक्षद्वयबीच फेरि एकपटक कुरा हुनेछ । ‘उहाँहरुलाई हामीले भोलि बिहान फेरि एकपटक कुराकानी गर्नुुस् र त्यसपछि हामी बसेर सल्लाह गरौला भनेका छौं,’ उनले कान्तिपुरसँग भने ।

दुई पक्षलाइ मिलाउने समूहहरु पनि सक्रिय रहेकाले ओली र दाहालबीचको विवाद चर्किइरहँदा पनि केही अन्य विकल्पको चर्चा चाही भइरहेको छ । दुईमध्ये एक–एक पद बाँडफाँड गर्ने, सरकार सञ्चालनका लागि पाँच जना नेता ओली, दाहाल, खनाल, माधव नेपाल र वामदेव गौतम रहेको एउटा संयन्त्र निर्माण गर्नेलगायत कुरा आएका छन् । तर मुख्य रुपमा एकता गरेर जाने विषयमै नेताहरुको एकै खालको मनस्थिति बनिसकेको छैन । शुक्रबारको बैठक केही बढ्ता उपयोगी हुने ठानिए पनि ओली र दाहालबीच हार्दिकतापूर्ण संवाद नै हुन सकेन । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्