कोरोना भाइरसको संक्रमण अमेरिकामा भयावह, एकैदिन ५५ हजार बढी संकमित

गणेश थापा, क्यालिफोर्निया, २० असार । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमण भयावह अवस्थामा पुगेको छ । शुक्रबार एकैदिन ५५ हजार बढी मानिसमा संक्रमण देखिएको छ । यो संख्या कोरोना महामारी सुरू भएयता हालसम्मकै उच्च हो । केही दिनयता मृत्यु हुनेको संख्या स्थिर देखिए पनि कोरोना भाइरस संक्रमणका नयॉ विरामीहरू अत्याधिक मात्रामा थपिनुले अमेरिकाबासीमा त्रास पैदा भएको छ ।


नोवल कोरोना भाइरसको संक्रमण सुरू भएयता हालसम्म अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या १ लाख ३१ हजार नाघेको छ । तीब्रगतिमा बढिरहेको संक्रमितको संख्या समेत २८ लाख ५० हजार माथि पुगेको छ । गएको चार दिनको अवधिमा यहॉ झण्डै दुई लाख बढी मानिसमा भाइरसको संक्रमण फेला परेको छ । यद्यपि अघिल्ला हप्ताहरूको तुलनामा भने मृतकको संख्यामा केही कमि आएको तथ्यांकले देखाएको छ ।
प्रारम्भबाटै नोवल कोरोना भाइरसको संक्रमण सम्बन्धी अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड(१९ को संक्रमणका कारण विश्वको सबैभन्दा बढी प्रभावित अमेरिकामा शुक्रबार करीव ७ सय जनाको मृत्यु भएको छ । अघिल्लो दिन २४ घण्टाको अवधिमा झण्डै १३ सय व्यक्तिको ज्यान गएकोमा त्यसको एक दिन अघि मात्रै पनि सॉढे सात यसको हराहारीमा मानिसहरूको मृत्यु भएको थियो । यसैगरी केही दिनयता संक्रमितको संख्या ह्वात्तै बढिरहेको अमेरिकामा हिजो पनि शुक्रबारकै हाराहारीमा ५२ हजार बढी व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण भेटिएको थयो भने अघिल्लो दिनको संक्रमित संख्या करीव ४७ हजार रहेको थियो । अमेरिकामा यो मितिसम्म करीव ८ लाख ३४ हजार कोरोना संक्रमितहरू भाइरसलाई पराजित गर्दै नियमित काममा फर्किसकेका छन् ।


प्राप्त तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमण फैलिएका अमेरिकाका ५० वटै राज्यहरू मध्ये सवैभन्दा बढी मानवीय क्षति खेप्नुपरिरहेको न्युयोर्कमा मात्रै ३२ हजार बढीको मृत्यु भएको छ भने ४ लाख मानिस संक्रमित भएका छन् । न्यूयोर्कमा नेपालीहरूको समेत बाक्लो बसोबास रहेको छ । कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म १६ जना नेपालीहरूको ज्यान गइसकेको छ भने सयौंको संख्यामा संक्रमित रहेको यहॉका विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् ।
यता क्यालिफोर्नियामा समेत कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६ हजार २ सय नाघेको छ भने झण्डै सॉढे दुई लाख मानिसमा संक्रमण देखिएको छ । अघिल्ला साताहरूमा दिनहुँ २५ देखि ३० हजारको हाराहारीमा कोरोना संक्रमित फेला पर्दैआएकोमा हालका दिनमा ५० हजार माथिको संख्यामा नयॉ विरामीहरू देखिएका छन् । बढ्दो कोरोना संक्रमणसँगै मानिसहरू निकै त्रसित र भयवित देखिन्छन् ।कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संसारभर झण्डै सवा पॉच लाख मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या समेत एक करोड १० लाख नाघेको छ ।


यसैबीच आगामी दिनमा कोरोना भाइरसको महामारीबाट अमेरिका अझै बढी प्रभावित हुनुकसाथै संक्रमितहरूको संख्या समेत दैनिक एक लाखसम्म पुग्न सक्ने यहॉ सक्रिय स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका छन् । अमेरिकामा अघिल्ला केही साता कोरोना संक्रमण कमीहुँदै जाँदा विभिन्न राज्यका सरकारहरूले खुलाउँदै लगेका व्यापार व्यावसाय तथा कार्यालयहरू पुनः भाइरसको संक्रमण अत्याधिक बढ्नथालेपछि अत्यावश्यक क्षेत्रवाहेक अन्यलाई आफ्ना कामकारवाही सीमित गर्न निर्देशित गरिरहेका छन् । कोरोना संक्रमणबाट अमेरिकाका ख्यातिप्राप्त डाक्टर, वकिल, गायक, पुलिस अफिसर लगायत कयौं महत्वपूर्ण व्यक्तिहरूको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्