प्रहरी र स्थानीयबीच झडप, तीनजना प्रहरी घाइते, २० सेल अश्रुग्यास प्रहार

काठमाडौं, असार २० । ललितपुरको खोकनामा शनिबार प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

प्रस्तावित द्रुतमार्ग पर्ने क्षेत्रको जमिनमा स्थानीयले खेत रोप्न थालेपछि झडप सुरु भएको हो ।स्थानीयले प्रहार गरेको ढुंगा लागेर प्रहरी निरीक्षक किसन बस्नेतसहित तीनजना प्रहरी घाइते भएका महानगरीय प्रहरी परिसर ललितपुरका सहप्रवक्ता सन्तोष तामाङले बताए ।स्थानीयतर्फ कसैलाई केही भएको छैन । स्थानीयको ढुंगामुढापछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

‘स्थिति नियन्त्रणमा लिन २० सेल अश्रुग्यास प्रहार गरिएको–सहप्रवक्ता तामाङले बताए ।खोकनाको सभ्यता जोगाउनुपर्ने, विकासको नाममा उर्वर भूमि विनास गर्न नहुनेलगायतका माग गर्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

यसपछि प्रहरीले लाठीचार्जसमेत गर्‍यो र त्यसपछि स्थानीयको तर्फबाट ढुंगामुढा भएको प्रहरीले जनाएको छ ।सो क्षेत्रमा शनिबार बिहानैदेखि सशस्त्र प्रहरीसहित ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरिएको थियो ।

शनिबार दिउँसो करिब १ बजेतिर प्रहरीको अवरोधपछि स्थानीयले ढुंगामुढा गरेको जनाइएको छ ।अहिले स्थिति नियन्त्रणमा आइसकेको र अवस्था सामान्य रहेको सहप्रवक्ता तामाङले बताए

बाहिरी चक्रपथ, काठमाडौं–तराई–मधेस द्रुतमार्ग र मातातीर्थ–भक्तपुर १३२ केभी प्रसारणलाइन खोकना हुँदै बनाउने योजना सरकारले अघि सारेपछि स्थानीयले विरोध गरिरहेका छन् ।आफ्नो जमिनमा जोतभोग गर्न पाउनुपर्ने भन्दै स्थानीयले धान रोप्न थालेपछि प्रहरीले अवरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्