विभन्न ठाउँमा बाढी र पहिरोः उद्धार र राहतमा जुट्न प्रचण्डको निर्देशन

काठमाडौं , असार २५। वर्षाको सम्भावना कारण देशमा बाढी, पहिरो तथा डुवान भइरहेको छ । यसबाट बच्नका लागि सचेत रहन सरकारले आग्रह गरेको छ ।

सातवटै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू९क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । यता सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत जिल्लामा बाढी पहिरोले आक्रान्त तुल्याएको, जनधनको क्षति भएको भन्दै उद्धार र राहतमा जुट्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहीबार विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले घरबारविहीन भएर भएका, घाइते अवस्थामा रहेकाहरूको उद्धार गर्न पार्टी पंक्ति निर्देशन दिएका छन् । उनले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासनलाई अविलम्ब प्रकोप व्यवस्थापनमा जुट्न आग्रह पनि गरेका छन् ।

“सिन्धुपाल्चोक, गुल्मी, बझाङलगायत देशका विभिन्‍न जिल्लामा बाढी तथा पहिरोका कारण ठूलो मानवीय र धनमालको क्षति हुनुका साथै कतिपय स्थान डुबानमा परेको घटनाले दुखित तुल्याएको छ,” उनले भनेका छन्, “यो स्थितिमा प्राकृतिक प्रकोपमा परिवारजन गुमाउनुभएकाहरुप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु । अहिले पनि कतिपय व्यक्ति बेपत्ता हुनुभएको र घरबारविहीन भएर विचल्ली परेको अवस्था रहेकोले केन्द्र, प्रदेश, स्थानीय तहका सरकार, प्रशासन तथा पार्टी पंक्तिलाई उद्धार तथा राहतमा सक्रिय भएर जुटन र यो विषम् परिस्थितिमा धैर्यधारण गरी सतर्क रहन सबैमा अपिल गर्दछु ।”

उनले दीर्घकालीन रूपमा प्राकृतिक प्रकोपको सामना गर्ने रणनीति तथा विकासको मोडलबारे समेत समयमै ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्