सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह

काठमाडौं , असार २६ । सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा जारी रहने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने मौसमविद्ले बताएका छन् ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति पोखरेले बताए । “आगामी सोमबारसम्म यी प्रणालीको प्रभाव रहन्छ । अबको चार दिन सतर्क रहनु पर्छ”, मौसमविद् पोखरेले भने ।

मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिहरेकाले जमिन गली सकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको बताइएको छ ।

विशेष गरी प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा ९।८ मिलिमिटर वर्षा भएको छ । त्यस्तै वीरेन्द्रनगरमा २३।५, सिमरामा ११।२, नेपालगञ्जमा १०।७ र सबैभन्दा धेरै पोखरामा १३६।७ मिलिमिटर वर्षा भएको छ ।

वर्षाका कारण देशका अभिकांश स्थानमा बाढी र पहिरोले कयौंको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्