भारतमा कोरोना संक्रमितको संख्या ८ लाख पुग्यो, एकैदिनमा २७ हजार संक्रमित

काठमाडौं, असार २७ । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ । शनिबार विहान सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना सङ्क्रमित भएका छन् ।

ती मध्ये २७ हजार ११४ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सङ्ख्या एकैदिनमा सङ्क्रमित भएकाहरुको सङ्ख्यामध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।

पछिल्लो २४ घण्टामा भारतभरी कोरोनाभाइरसका कारण ५१९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

देशभरी कुल सङ्क्रमितमध्ये दुई लाख ८३ हजार ४०७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख १५ हजार ३८६ जना सङ्क्रमणमुक्त भएका छन् भने २२ हजार १२३ जनाको मृत्यु भएको छ । भारतका प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश बढी प्रभावित भएको छ ।

महाराष्ट्रमा मात्रै दुई लाख ३८ हजार ४६१ जना सङ्क्रमित हुदाँ दोस्रो धेरै सङ्क्रमित भएको तमिल नाडुमा एक लाख ३० हजार २६१ जना र तेस्रो धेरै सङ्क्रमित भएको दिल्ली प्रदेशमा एक लाख नौ हजार १४० जना सङ्क्रमित भएका छन् ।

विश्वभरीको तथ्यांक हेर्दा भारत तेस्रो धेरै सङ्क्रमितहरु रहेको देशमा पर्दछ । भारतमा भन्दा धेरै अमेरिका र ब्राजिलमा सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्