प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताएका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले कोरोना र प्रकोपविरुद्धको सङ्घर्ष कमजोर हुन नहुने बताए। उनले भने, मुलुक बाढीपहिराको उच्च जोखिममा छ। यस्तो बेलामा पार्टीका राजनीतिक गतिविधि र अन्य विवादले एकता कमजोर नहोस्। पार्टी एकतालाई कमजोर पार्ने काम कहीँ कतैबाट भयो भने त्यो जनताको पक्षको काम भन्ने ठहरिँदैन।

पार्टी एकताको पक्षमा उठेका विषयमा भइरहेको पहललाई सकारात्मक रुपमा लिँदै उनले भने, यसमा पनि तपाँईहरुको पहल भइरहेको छ। त्यसका लागि धन्यवाद। आगामी दिनमा अझै दृढताका साथ एकताबद्ध भएर अगाडि बढ्न उनले आग्रह गरे। सतर्कता अपनाउन र उच्च मनोबलका साथ एकताबद्ध भएर कोभिड–१९ का विरुद्ध लड्न उनले सुझाव दिए। रोगविरुद्ध सबै राजनीतिक शक्ति, नागरिक समाज, पत्रकार सबै एकताबद्ध हुनुपर्ने पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो। उनले जिल्लामा राप्ती, नारायणी र रिउ नदीमा तटबन्धसहितको चक्रपथ निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन बनेर अर्थ मन्त्रालयमा बजेटका लागि पेस भएको जानकारी पनि दिए।

अध्यक्ष दाहालले भने, यो मेरो ड्रिम प्रोजेक्ट हो। यो चितवनका जनताको समृद्धिको आधार बन्छ। साथै जिल्लामा रहेका खहरे खोलाहरुको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए। वर्षात्मा नभएर त्यसअघि नै विपद् व्यवस्थापनको तयारी र विकासनिर्माणको काम गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड थियो। बैठकमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लाको समग्र विपद् व्यवस्थापनको पूर्वतयारी र अहिलेको अवस्थाबारे जानकारी गराएका थिए। सो अवसरमा प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रमुख, स्थानीय तहका प्रमुख, सरोकार कार्यालयका प्रमुख तथा सरोकार सङ्घसंस्थाका प्रतिनिधिले आआफ्नो क्षेत्रको गतिविधि र धारणा राखेका थिए।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दाहाल उपस्थित भएको बेला पारेर विपद् व्यवस्थापन समिति बैठक राखिएको हो। अध्यक्ष दाहाल आफ्नै क्षेत्रमा पर्ने मेघौलीमा नारायणी नदीको कटान र माडी क्षेत्रमा भएको मानवीय क्षति पछि निरीक्षणका लागि गृहजिल्ला गएका हुँन्।

प्रतिक्रिया दिनुहोस्