बाढी पहिरोको वितण्डा : पाँच दिनमा ७ हजार बढी विस्थापित

काठमाडौं , असार ३० । गृह मन्त्रालयका अनुसार २५ असारअघि बझाङ, पर्वत, गुल्मी र पाल्पामा भएका विपद्का घटनाबाट हजारौं व्यक्ति विस्थापित भएका छन् । मन्त्रालयले स्थानीय स्तरमा रहेका प्रहरी, स्थनीय संघसंस्था तथा रेडक्रसमार्फत विस्थापितको यकिन विवरण संकलन हुने क्रममा रहेको बताउँदै आएको छ ।
बाढी, पहिरो तथा डुबानलगायत प्राकृतिक विपत्तिबाट गएका पाँच दिनमा मात्रै ७ हजारभन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

गत २५ असारदेखि २९ असारसम्मको प्रारम्भिक तथ्यांकअनुसार रौतहट, सप्तरी, संखुवासभा, लमजुङ, जाजरकोट, सिन्धुपाल्चोक, म्याग्दी र झापामा गरी करिब १ हजार ४ सय ४० घरपरिवारका ७ हजार बढी व्यक्ति बसोवास कायम रहेको स्थानबाट अन्यत्र विस्थापित भएका हुन् ।

रौतहटमा डुबानका कारण ५ सय घरपरिवार विस्थापित हुँदा करिब २ हजार ५ सय व्यक्तिलाई अन्यत्र सारिएको हो । यस्तै, सप्तरीमा ३२ परिवार विस्थापित भएका छन् । संखुवासभामा ८२ घरपरिवारका ४ सय बढी व्यक्तिलाई सुरक्षित स्थानमा सरिएको छ ।

यसैगरी, लमजुङमा १० घर परिवारका ५० भन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । जाजरकोटमा २ सय ६ घर परिवारका १ हजार बढी व्यक्तिलाई अन्यत्र लगिएको छ ।

सिन्धुपाल्चोकमा ८५ घर परिवारलाई पहिराका कारण बसोबार रहँदै आएको स्थानबाट सुरक्षित स्थानमा सारिएको छ । यस्तै, म्याग्दीमा ४ सय परिवारलाई जोखिम हेरेर सुरक्षित स्थानमा सारिएको छ ।

तराईमा बाढी तथा डुबानका कारण र पहाडमा पहिराका कारण धेरै परिवार विस्थापित भएका छन् ।

गृह मन्त्रालयका अनुसार प्रभावित जिल्लाहरूमा जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, रेडक्रससहितका संघसंस्थाको समन्वयमा विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा राहत वितरण गर्ने काम भइरहेको छ ।

२५ असारअघि भएको बझाङ घटनाका प्रभावितका लागि काठमाडौंबाट हेलिकोप्टरमार्फत नै राहत सामग्री पठाइएको थियो । सोमबार मात्रै संखुवासभामा विस्थापित ८२ परिवारका लागि विराटनगरबाट राहत सामग्री हेलिकप्टरमार्फत पठाइएको छ ।

गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख मुरारी बस्तीले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेका जिल्लास्थित विपद् व्यवस्थापन समिति, स्थनीय तहअन्तर्गतका समिति, रेडक्रसलगायतका स्थानीय संघसंस्थाको समेत समन्वयमा घाइते तथा प्रभावितको उद्धार र राहत वितरणको काम अघि बढिरहेको बताए ।

उनका अनुसार नजिकैका क्षेत्रीय गोदामघर तथा जिल्लास्थित विपद व्यवस्थापन समितिमार्फत प्रभावित जिल्लामा राहत सामग्री पुर्‍याइएको छ ।

यता अविरल वर्षाका कारण खसेको पहिरोले पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणघाट खण्डको दाउन्नेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

उक्त क्षेत्रमा रातिदेखि झरेको पहिराले राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रुपले बन्द रहेको प्रदेश नं ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

यस्तै बुटवल–पाल्पा खण्डको दोभानमा सोमबार दिउँसो खसेको पहिरो हटाउन नसक्दा अवरुद्ध सिद्धार्थ राजमार्ग पनि पूर्णरुपले बन्द रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

बुटबल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–३, पैठेडाँडा क्षेत्रमा सडकमाथिबाट खसेको सुख्खा पहिरोसहित ढुङ्गा खस्दा सोमबारदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

सोमबार नै पहिरो हटाएर राजमार्ग सञ्चालनको प्रयास गरिए पनि अविरल वर्षा र पहिरोसहित आएका ठूला ढुङ्गा भएकाले समस्या भएको छ ।

ढुङ्गा फुटालेर पहिरो हटाउने र सडक खुलाउने प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्वपश्चिम र सिद्धार्थ राजमार्गमा सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्