कर्णाली प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टी

काठमाडौं , ३० । कर्णाली प्रदेशका एक जना सांसदमा कोरोना संक्रमण देखिएको छ। आइतबार ति सांसदसहित उनको सचिवालयका दुई जना कर्मचारीको पोलिमेरीज चेन रियाक्सन ९पीसीआर० गरिएको थियो। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले संसदलाई कोरोना संक्रमण भएको पुष्टी गरेको छ।

‘आइतबार एक जना सांसद र सचिवालयका दुई कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो,’ सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका एक कर्मचारीले भने, ‘सांसदको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आयो, सचिवालयका कर्मचारीमा कोरोना देखिएन। ’

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन सकेपछि उनी कार्यकर्ता भेट्न आफ्नो निर्वाचन क्षेत्र जाने तयारीमा थिए। ‘गाउँ जानुअघि कोरोना परीक्षण गराएका थियौं,’ सचिवालयका एक कर्मचारीले भने, ‘तीन जना मध्ये माननीय ज्यूमा कोरोना देखियो। ’

आइतबार उनी आफ्नो निर्वाचन क्षेत्र जाने तयारीमा थिए। ‘त्यसका सबै तयारी पुरा भएको थियो,’ ति कर्मचारीले भने, ‘कोरोना संक्रमण देखिएपछि निर्वाचन क्षेत्रमा गएर जनता भेट्ने कार्यक्रम स्थगित गर्नुपर्यो ।’ कोरोना संक्रमण देखिएका सांसद चिकित्सकको निगरानीमा छन्।

लक्षण नदेखिएकाले उनी होम क्वारेन्टिनमै छन्। ‘माननीयज्यू नियमित चिकित्सकको सम्पर्कमा हुनुहुन्छ, केही समस्या परेमा कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा जाने गरेर अहिले होम क्वारेन्टिनमै हुनुहुन्छ,’ सचिवालयका कर्मचारीले भने, ‘उहाँमा अहिलेसम्म कुनै प्रकारको लक्षण देखिएको छैन्।’

सांसदलाई कोरोना देखिएपछि प्रदेशसभाका सभामुख, मुख्यमन्त्रीसहित सबै मन्त्री र सांसदका साथै संसद सचिवालयका कर्मचारीहरुको स्वाब संकलन गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्