शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दुराअवस्थामा : नेता सिंह

काठमाडौं , साउन १४ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका पुराना नेतालाई कारबाही गर्ने र अन्यलाई पार्टी प्रवेश गराउने सभापति शेरबहादुर देउवाको कदम उचित नभएको बताएका छन् ।

बुधबार उनले अन्य पार्टीबाट प्रवेश गराउनु राम्रो भए पनि अहिले समय ठीक नभएको बताए । कांग्रेसले हालै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित ३ जनालाई कारबाही गरेको छ भने मंगलबार राप्रपा नेता सुनीलबहादुर थापासहितलाई प्रवेश गराएको छ ।

देउवाले आउँदो महाधिवेशन प्रभावित पार्ने गरी विभाग गठन गर्ने र पद बाँड्ने काम गरेको भन्दै उनले कसैलाई कारबाही गरेर आफूले जे चाहन्छु त्यो गर्न सक्छु भन्ने देखाउन खोजेको उनले बताए ।देउवाले प्रजातन्त्रको रक्षाका लागि गर्नुपर्ने न्यूनतम क्रियाकलापसमेत गर्न नसकेको उनले आरोप लगाए ।
२०४६ सालयताका सबै नेतृत्वहरु शक्ति र सत्ताको खेलामा लागेकाले पार्टी कमजोर बनेको नेता सिंहले बताए । कार्यकर्तालाई कसरी परिचालन गर्ने भन्दा पनि शक्ति र सत्ताको खेलमा नेताहरु लाग्दा कांग्रेस दुराअवस्थामा पुगेको उनको निश्कर्ष छ ।

नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको औचित्य नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्