पत्रकार सम्मेलन – देउवाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै पौडेल समूहको असन्तुष्टि

काठमाडौं , साउन १५ । कांग्रेसमा महाधिवेशनको माहोल तातिँदै जान थालेको छ । बैचारिक पक्षभन्दा पनि अब आउने महाधिवेशनबाट पार्टीको सभापति को हुने भन्नेमा मुख्य संघर्ष चलेको छ । यसैबचि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गरेको भन्दै सार्वजनिकरुपमा असन्तुष्टि जनाएको छ ।

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले सभापति देउवाले पद र प्रलोभन बाँडेर विधान र पार्टीको निर्वाचन आचार संहिताविपरीत कार्यकाल केन्द्रमा पेस गरेको भन्दै आपत्ति जनाएको छ ।

नेता पौडेल र महामन्त्री डा। शशांक कोइरालाले सभापति देउवालाई लेखेको पत्रमा भनिएको छ, “पार्टीमा दशकौंदेखि रगत–पसिना भिजाएका साथीहरुलाई वडा, क्षेत्र र जिल्लामै बहिस्कृत गराउने वा उहाँहरुको मनोवल गिराउने, पार्टी जीवन तहसनहस वा तेजोबोध गर्ने खालका अन्यायपूर्ण काम किमार्थ हुनु हुँदैन ।”
पत्रकार सम्मेलनमा पौडेलले सभापति देउवाले जति गल्ती गर्दै जान्छन् त्यति नै सशक्त दबाब बढाउँदै लगिने बताएका छन् । “हामीले यो मुद्दा महाधिवेशनसम्म लैजान्छौं,” उनले भने, “सभापति देउवाले जति गल्ती गर्दै जान्छन् हामी त्यतिनै सशक्त दबाब बढाउँदै जान्छौं । महाधिवेशनपछि कांग्रेसमा कुनै गुट हुँदैन । १४ औं महाधिवेशनले गुटको अन्त्य गर्छ ।”

उनले १४ औं महाधिवेशनमा पत्रकार सम्मेलन गरेरै आफूहरुले उमेदवारी घोषणा गर्ने बताए । यता बाहिरबाट हेर्दा सभापति शेरबहादुर देउवा पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा देखिन्छ । भित्रभित्रै संस्थापन र इतरपक्षमै सभापतिको आकांक्षीहरु बढ्दै जान थालेका छन् ।

संस्थापन पक्षमा उपसभापति बिमलेन्द्र निधिले समेत देउवालाई चुनौती दिने गरी सभापति बन्ने इच्छा अघि बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस्