कांग्रेसमा गुटगत स्वार्थले महाधिवेशन प्रभावित हुने संकेत, आरोप–प्रत्यारोप जारी

काठमाडौं, साउन १५ । महाधिवेशनको मिति नजिकिँदै जाँदा देउवा र पौडेल पक्षबीच विवाद बढ्दै गएको छ। सभापति देउवाले महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न चलखेल गरेको पौडेल पक्षले आरोप लगाउँदै आएको छ । यसैबीच नेपाली कांग्रेसभित्र आन्तरिक विवाद बल्झिदै जाँदा पार्टीको १४औं महाधिवेशन प्रभावित हुने संकेत देखिएको छ। गुटगत विवादले निर्धारित समयमा कार्यसम्पादन नहुँदा कार्यतालिका संशोधन हुँदै आइरहेका बेला पार्टीका विभाग गठनलाई लिएर संस्थापन र इतर समूहबीचको मतभेद फेरि चुलिन पुगेको छ।

गुटगत स्वार्थले गत फागुनमा सकिनुपर्ने संगठन समायोजन अहिलेसम्म नसकिँदा कार्यतालिका खुम्चाइएको छ। कार्यतालिका खुम्चाइए पनि त्यस अनुसार काम हुन नसक्दा आगामी फागुन ७ देखि महाधिवेशन सुरु हुनेमा संशय छ। संशय भइरहेका बेला सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्न विभाग गठनलाई तीव्रता दिएको आरोप नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालासहितको असन्तुष्ट पक्षले लगाएको छ।

असन्तुष्ट पक्षले महाधिवेशन निष्पक्ष हुनेमै आशंका व्यक्त गर्दै बिहीबार सभापति देउवालाई पाँचबुँदे लिखित ध्यानाकर्षण पत्र बुझाएको छ। विधि, विधान र निर्वाचन आचारसंहिता विपरीत पार्टीमा नियुक्ति र मनोनयन नरोकिए त्यसलाई महाधिवेशनको अजेन्डा बनाउने असन्तुष्ट पक्षले जनाएको छ। असन्तुष्ट पक्षले नेता–कार्यकर्तालाई विभिन्न पदको प्रलोभनमा पारेर महाधिवेशन प्रभावित पार्ने काम नगर्न सभापति देउवासँग माग गरेको छ।

‘विधानले निश्चित व्यवस्था गरेका २८ विभागलाई बढाएर हाम्रो असहमति हुँदाहुँदै ४८ पु¥याई अन्धाधुन्ध तरिकाले पद र प्रलोभन बाँडेर विधान र पार्टी निर्वाचन आचारसंहिता विपरीत कार्यकाल सकिएपछि थपिएको एक वर्षभित्र, त्यो पनि महाधिवेशनको तिथि घोषणा भइसकेपछि फगत महाधिवेशनलाई प्रभावित गर्ने कुत्सित मनसाय हो भन्ने हाम्रो ठहर छ,’ असन्तुष्ट पक्षले सभापति देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ, ‘त्यसैले यसमा हाम्रो गम्भीर आपत्ति छ र यो अस्वीकार्य छ। यस्ता कार्य तत्काल बन्द गरियोस् र त्यस्ता निर्णय खारेज गरियोस्।’

तर सभापति देउवाले विभागहरूलाई पूर्णता दिँदै अघि बढ्ने अडान दोहो¥याएका छन्। आफ्नै खुट्टामा बन्चरो नहान्न पौडेललाई आग्रह गर्दै देउवाले विभागहरूमा राख्ने नेताहरूको नाम दिन भनेका छन्। विभाग गठनप्रति असन्तुष्टि जनाउँदै ध्यानाकर्षण पत्र बुझाउन पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका नेताहरूसँगको भेटमा देउवाले सहमतिका लागि आफूले धेरै समय पर्खेको पनि बताए। नाम दिनुको साटो विवाद खडा गरे आफूलाई असफल देखाउने प्रयास पार्टीका केही साथीहरूबाट भएको देउवाको आरोप छ।

सहमहामन्त्री प्रकाशशरण महतले नेता पौडेलसहितले विभागहरू गठन नगर्न आग्रह गरे पनि सभापति देउवाले गठन गर्नुपर्ने आवश्यकता औंल्याउँदै नाम सिफारिस गर्न आग्रह गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्