नेकपा भित्रको आन्तरिक विवाद बढ्दै : कार्यकर्ता निराश, निवासमा बोलाएर सम्झाउदै प्रचण्ड

काठमाडौं, साउन १६ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद बढ्दै गएको छ । सत्तारुढ नेकपाको केन्द्रमा उत्पन्न विवादले यतिबेला राष्ट्रिय राजनीतिमा चर्चा र चासो पनि बढेको छ । साथै पार्टीभित्रको विवाद झन् बढ्दै जाँदा जिल्लामा कार्यकर्तासमेत पार्टी विभाजनको सम्भावित सङ्कटबाट चिन्तित देखिएका छन्। पार्टीभित्र आन्तरिक विवाद बढ्दै गएपछि केपी शर्मा ओली र प्रचण्डवीच दुरी बढ्दै गएको छ । पछिल्लो पटक त उनीहरुले आपसी सम्वाद समेत गरेका छैनन ।

काठमाडौं, साउन १६ । पछिल्ला दिनमा पार्टीको आन्तरिक जीवनमा देखिएको असहज अवस्थाप्रति केन्द्रदेखि जिल्लास्तरका नेता तथा कार्यकर्ताले विभिन्न माध्यमबाट चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई खबरदारी गरेका छन् ।यता विवाद बढ्दै गएपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पक्षका असन्तुष्ट नेताहरुलाई निवासमा बोलाएर सम्झाउन थालेका छन् । विहिबार साँझ प्रचण्डसँग असन्तुष्ट भनिएका पूर्वमाओवादी नेताहरुलाई खुमलटारमा डिनरसहितको निम्तो दिइएको थियो ।

खुमलटार पुगेका असन्तुष्ट नेताहरुलाई अध्यक्ष दाहालले अहिलेको विवादबारे र पार्टी एकताको शुरुको अवस्थाबारे सम्झाएका थिए । खुमलटारमा प्रचण्डले जनार्दन शर्मा, मणी थापा, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, चक्रपाणी खनाल लगायतका नेताहरुलाई बोलाएर सम्झाएका थिए । केही दिनदेखि उनीहरु प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टी राख्दै आएका थिए । उनीहरु तत्कालै केपी ओलीको सरकार ढाल्न नहुने पक्षमा रहेका थिए ।

ओली सरकार ढालेर प्रचण्डको बन्दा पनि खास सहयोग नहुने भएकाले अहिलेको अवस्थामा ओलीसँगै मिलेर अधिकतम उपलब्धी लिनुपर्ने उनीहरुको भनाइरहेको थियो । स्थिरता र समृद्धिको नारासहित एकीकृत पार्टी बनाउने प्रतिबद्धतासहित जनतामा गएर मत मागेका दुई कम्युनिष्ट पार्टी एकताबद्ध भएको दुई वर्षमै पार्टीभित्र देखिएको विवादले तल्लो तहका कार्यकर्तामा असन्तोष पैदा गरेको हो ।अब कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन र देशको विकासका लागि दुई अध्यक्ष मिल्नुको विकल्प छैन, जनताका बीचमा गरेका कबोल पूरा गर्नेतर्र्फ ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्