अमेरिकामा पनि अब टिकटकमा प्रतिबन्ध लगाइने , ट्रम्प भन्छन्- आज राति नै घोषणा हुन्छ

काठमाडौं, साउन १७ । अमेरिकामा पनि अब टिकटकमा प्रतिबन्ध लगाइने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको एप्स टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले यो घोषणा गरेसँगै अब टिकटक बन्द हुने भएको हो ।

राष्ट्रपती ट्रम्पले आज राति नै टिकटकलाई प्रतिबन्ध लगाउने कार्यकारी घोषणामा हस्ताक्षर हुन सक्ने बताएका छन् । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक विश्वमै सबैभन्दा धेरै रुचाइएको एप्स हो ।

हाल २ अर्ब पटक डाउनलोड भएको टिकटकका ८० करोड सक्रिय प्रयोगकर्ता छन् । निर्माता बाइटडान्सका लागि निकै ठूलो धक्का हुने ठानिएको यस एपको अमेरिकामा मात्र ८ करोड सक्रिय प्रयोगकर्ता छन् ।

कोरोना भाइरस र व्यापारको विषयमा भइरहेको चीन र अमेरिकाबीचको विवाद मोबाइल एप प्रतिबन्ध लगाउने अवस्थासम्म पुग्नुले दुई देश गम्भीर झगडामा रहेको प्रष्ट भएको विश्लेषकहरुले जनाएका छन् । उता भारतले पनि चिनियाँ लगानीको एप्स टिकटकलाई प्रतिबन्ध लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्