कोरोना संक्रमणबाट उत्तर प्रदेशकी एक मन्त्रीको मृत्यु

काठमाडौं, साउन १८ । भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमल रानी वरुणको कोरोना भाइरसबाट मृत्यु भएको छ । कोरोना भाइरसबाट संक्रमित उनी उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना भएकी थिइन् । आइतबार बिहान उनको ६२ वर्षको उमेरमा मृत्यु भएको हो ।

कमल रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उनी यो सिटमा जित हासिल गर्ने पहिलो विधायक बनेकी थिइन् । उनलाई गत वर्ष मन्त्री बनाइएको थियो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमल रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या जाने आफ्नो कार्यक्रम पनि रद्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्