प्रचण्ड र सुवास नेम्वाङबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं , साउन २२ ।आइतवारदेखि लगातार तीन दिन ओली र प्रचण्डबीच सम्वाद भएपनि नेकपामा उत्पन्न गतिरोधको निकास निस्किएको छैन । बुधबार निर्धारित छलफल प्रचण्डकै आग्रहमा स्थगित भएको थियो ।यसैबीच यता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाङबीच भेटवार्ता भएको छ ।

दुई अध्यक्षबीचको वार्ता हुन नसकिरहेका बेला प्रचण्डकै आग्रहमा नेम्वाङ खुमलटार पुगेका हुन् । अध्यक्ष केपी शर्मा ओलीसँगको टेलिफोन संवादमा प्रचण्डले नेम्वाङसँग कुरा गर्न चाहेको बताएपछि बालुवाटारले पठाएको स्रोतले जनाएको छ ।प्रचण्डसँग के कुरा भयो भन्नेबारे नेम्वाङ खुल्न चाहेनन् । उनले अहिलेसम्मको छलफल सकारात्मक रहेको भन्दै आफू आशाबादी बनेको र सबैको पहल दुई अध्यक्षबीच समझदारी कायम गर्नेतर्फ केन्द्रित हुनुपर्ने बताए ।

आफू दुई अध्यक्षबीच पुनस् छलफल गराउन प्रयासरत रहेको भन्दै नेम्वाङले आज भने भेटघाटको सम्भावना नरहेको बताए ।प्रचण्डले नेम्वाङलाई पार्टी विभाजनको डिलमा रहेको भन्दै ओली लचिलो नहुने हो भने पार्टीको बहुमत पक्षले विधानअनुसार अघि बढ्नुपर्ने बताएको स्रोतले जनाएको छ ।

नेम्वाङले भने महाधिवेशनसम्म दुई अध्यक्षको सहमतिबाट अघि बढ्नुको विकल्प नरहेको र त्यसो भन्दा दायाँबायाँ गरिए एकता भंग हुने र मुलुकनै संकटमा पर्ने बताएका छन् ।

यता सत्तारुढ नेकपाभित्र विवाद तत्काल समाधान नहुने देखिएको छ । प्रधानमन्त्री र अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा मागिएपछि नेकपामा बढेको विवाद समाधान भइसकेको छैन । विवाद समाधानका लागि अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भइरहेको वार्ता पनि रोकिएको छ भने तत्काल सुरु हुने पनि देखिएको छैन ।

बुधबार प्रचण्डले पार्टी विभाजन हुन सक्ने भन्दै कार्यकर्तालाई मानसिक रुपमा तयार रहन निर्देशन दिएका थिए । यसको भोलिपल्ट बिहीबार बिहान ओलीले आफ्नो दूतका रुपमा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खुमलटार पठाए । वार्ताका लागि ओलीको प्रस्ताव लिएर खुमलटार पुगेका नेम्वाङलाई प्रचण्डले यथास्थितिमा वार्ता नहुने जवाफ दिएका छन् ।

ओलीको कार्यशैली परिवर्तन नभएमा वार्तामा बस्नुको औचित्य नरहेको भन्दै प्रचण्डले अहिले वार्तामा नबस्ने बताएका हुन् । पार्टी विभाजन गराउन ओली उद्दत रहेको बुझेका प्रचण्डले विवाद समाधान गर्न ओली जिम्मेवार नबनेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्