क्रियाशील सदस्यता १० लाख पुर्‍याउने तयारीमा कांग्रेस

काठमाडौं , साउन २२ । नेपाली कांग्रेसले हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउने तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा हाल कायम क्रियाशील सदस्यतामा शतप्रतिशत बढाउनेबारे छलफल भएको छ ।

“यसअघि हामीले हाल कायम सदस्यताको ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता बढाउने निर्णय गरेका थियौं । आजको छलफलमा अब शतप्रतिशत बढाउने कि भन्ने छलफल भएको छ,” बूढानीलकण्ठ बैठकमा सहभागी एक नेताले भने, “पदाधिकारी बैठकले निर्णय गर्ने कुरो भएन, तर यो विषय केन्द्रीय समितिबाट पास गरेर अब हामी क्रियाशील सदस्यता शतप्रतिशत बढाउँछौं ।”

हाल कांग्रेसका चार लाख ९८ हजार ४७६ क्रियाशील सदस्य छन् । कांग्रेसले यसअघि कुल क्रियाशील सदस्य संख्याको ५० प्रतिशत मात्रै नयाँ क्रियाशील सदस्यता बढाउने निर्णय गरेको थियो । आगामी महाधिवशेनलाई लक्षित गरेर हाल कायम संख्याको शतप्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गरे कांग्रेसका क्रियाशील सदस्यको संख्या झन्डै १० लाख पुग्नेछ ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु गोपानमान श्रेष्ठ, अर्जुननरसिंह केसी रामशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए ।

बूढानीलकण्ठ बैठकमा पार्टीको आशन्न महाधिवेशन, कोरोना महामारीले पुर्‍याउने असर, पार्टीका भ्रातृसंस्थाहरुको म्याद थप र विस्तार, १३औं महाधिवेशनको समयमा गठन गरिएको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन, १४औं महाविधेशनका लागि गठन गरिने क्रियाशील सदस्यता छानबिन समिति, अन्य दलबाट आएका नेता(कार्यकर्ताहरुको समायोजनलगायत विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्