कोरोना संक्रमण बढ्दै , ‘खुल्लान त अब लामो दुरीका यातायात र विद्यालय’ ? यसो भन्छन्- स्वास्थ्यमन्त्री ढकाल

पार्वती पाठक , काठमाडौं , साउन २२ । सरकारले लकडाउनको अन्त्य गरेसँगै आगामी भदौ १ गतेदेखि हवाईजहाज, लामो दूरीका सवारी साधन र विद्यालय खोल्ने निर्णय गरेको छ । तर यता कोरोना संक्रमण भने बढ्दै जान थालेको छ । यसले पनि सरकारलाई फेरि सोच्न बाध्य बनाएको छ । नेपालमा साउन ६ गते मध्यराति लकडाउन अन्त्य भएको घोषणा भएसँगै संक्रमित र मृतकको संख्या बढ्दै गएको छ ।

मृतक र संक्रमित बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञहरूसँग लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा परामर्शसमेत गरेका छन् ।समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको आशंकापछि संक्रमण फैलन नदिन १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

यता यस विषयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले आगामी भदौ १ गतेदेखि खुल्ने भनिएका हवाईजहाज, लामो दूरीका सवारी साधन र विद्यालयबारे पुनस् सोचिने प्रतिक्रिया दिएका छन् । मन्त्री ढकालले चाडपर्वहरूको समय उल्लेख गर्दै उनले चाडपर्व मनाउने प्रोटोकल पारित भइसकेको बताए।मन्त्रालयद्वारा बुधबार विभिन्न सञ्चार गृहका सम्पादकहरूसँग आयोजित अन्तरक्रियामा मन्त्री ढकालले घटीमा ६ लाखसम्मको पिसिआर जाँच गरिने जानकारी दिए।

खुला सिमाना भएको र भारतका नेपालसँग जोडिएका प्रान्तहरुको अवस्था हेरी हाम्रो अवस्था निर्धारण हुने बताउँदै बढीभन्दा व्यक्तिको कोरोना जाँच गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका छन्। तराईका जिल्लामा संक्रमणको संवेदनशीलतालाई हेरी कडाइका साथ व्यवस्थापन गरिने जानकारी दिए। मन्त्री ढकालले आवश्यकता अनुसार परीक्षण गर्दै लगिने र सीमाबाट हिँडेर आउनेलाई १४ दिन क्वारेन्टिनमा राखिने र हवाइजहाजबाट आउनेलाई पाँच दिन राखि पिसिआर टेष्ट गरिने बताए। उनले बन्दाबन्दीबाट मुक्त भएकाहरु हुनुपर्ने जति सावधान नभएको हुँदा जोखिम बढेको बताउँदै अब पहिले जस्तो एकनासले बन्दाबन्दी नहुने स्पष्ट गरे। ुबन्दाबन्दीको मोडालिटीबारे सोचिने छु, उनले भने। उनले मन्त्रालयमा भएको भनिएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न गराउन तयार रहेको बताउदै आफू पैसा कमाउनका लागि यो पद र अवसरको कुनै हालतमा उपयोग नगर्ने बताए।

मन्त्री ढकालले अनियमितताको चलखेल गर्न नपाउनेबाट नै अनियमितताको हल्ला चलाइएको दावी गर्दै उनले महामारीको घृणा गर्नको बदला महामारीविरुद्ध लाग्नेलाई खेदो गरिएको गुनासो गरे। लकडाउन हटेसँगै काठमाडौं उपत्यकामा कोभिड(१९ को जोखिम बढ्दै गएको छ। पछिल्लो समय दिनदिनै कोरोना संक्रमित बढ्दै गएका छन्। विज्ञका अनुसार सार्वजनिक यातायात संचालन र नाकाहरूबाट निर्वाध मानिसहरुको प्रवेशले उपत्यका कोरोनाको उच्च जोखिममा परेको हो।

मन्त्री ढकालका अनुसार कोरोनाबाट मृत्यु हुने प्रतिशत नेपालमा शून्य दशमलव २७ मात्र छ जुन विश्वका अन्य मुलुकका दरभन्दा कम छ। विश्व स्वास्थ्य सङ्गठन र केही मुलुकले नेपालमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापन राम्रो बताएको उल्लेख गर्दै उनले हल्लाका भरमा होइन आफू नतिजाहरुले यस्तै देखाएको बताए।पछिल्लो तथ्यांक अनुसार उपत्यकामा दैनिक संक्रमण बढ्दै गएको छ। संक्रमण बढ्दै गएपछि विज्ञ तथा चिकित्सकहरुले उपत्यकामा लकडाउनको आवश्यकता भएको बताएका छन्।

उपत्यकामा २४ जना आइसियुमा, चारजना भेन्टिलेटरमा पछिल्लो समय लक्षणसहितका संक्रमित बढ्न थालेका छन्। संक्रमितहरु धमाधम आइसियु र भेन्टिलेटरमा जान थालेका छन्। मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल उपत्यकामा २४ जना संक्रमितको संक्रमणकै कारण गम्भिर भएर आइसियुमा पुगेका छन्। यता स्वास्थ्य जोखिम बढ्दो रहेकाले आउँदो भदौ १ गतेदेखि भर्ना शुरु गरी विद्यालय खोल्ने सरकारको तयारी अन्योलमा परेको छ ।

सरकारले शैक्षिकसत्रको अवधि खेर जान नदिने गरी भर्ना शुरु गर्ने र त्यसको करिब दुई सातापछि विद्यालय सञ्चालनको तयारीका लागि शिक्षकलाई सम्बन्धित विद्यालयमा पुग्न निर्देशन दिएको थियो । सरकारले विद्यालय पुनः सञ्चालनको कार्यविधिको मस्यौदा पनि तयार गरेको थियो तर पछिल्ला दिनमा जोखिम बढेकाले अन्योल उत्पन्न भएको हो । अहिले यसबारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मात्रै निर्णय गर्न नसक्ने स्थिति पैदा भएको छ । विद्यार्थी भर्ना गर्दा विद्यालयमा शिक्षक, अभिभावक र विद्यार्थी भेला हुँदा पनि जोखिम हुनसक्छ ।

विद्यालय सञ्चालनको अधिकार स्थानीय तहको भए पनि विपद् जोखिमको स्थिति भएकाले ती तहले पनि केन्द्र सरकारको मार्गदर्शन पर्खिरहेका छन् । जोखिम कम भएका ठाउँमा सम्बन्धित तह र विद्यालय व्यवस्थापन समितिको निर्णयबाट आवश्यक सुरक्षा विधि अपनाएर विद्यालय खोलाउन सकिने भए पनि हतार गरिहाल्न नहुनेमा अभिभाव छन् । हरेक वैशाखमा नयाँ शैक्षिकसत्र शुरु हुनुपर्नेमा हाल वैकल्पिक प्रणालीबाट सिकाइ निरन्तरता भएको छ भने त्यसलाई औपचारिकता दिइ शैक्षकसत्रमा गणना दिनेबारे कुनै निर्णय गरिएको छैन ।यसरी कोरोनामा स्थिीति भयाभह हुँदै जान थालेपछि जनतामा फेरि लकडाउन हुन्छ कि भन्ने परि परेको छ ।पछिल्लो समय कोरोनाभाइरसको संक्रमण सुरक्षाकर्मी र मन्त्रीहरुमा पनि देखिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्