ओरालो लाग्यो नेप्से , झन्डै ९२ करोडको कारोबार

काठमाडौं , साउन २२ । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १ हजार ३८१ दशमलव ३७ विन्दुमा पुगेर बन्द भएको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा यो दिन परिसूचक न्यून अंक अर्थात् १ दशमलव २९ अंक घटेको हो । यस दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६३ अंक घटेर २८९ दशमलव ५५ विन्दुमा झरेको छ ।

बिहीवार कारोबार रकममा पनि कमि आएको छ । यस दिन १८६ ओटा कम्पनीको २० हजार ५४८ पटकको व्यापारमा रू। ९१ करोड ८१ लाख ८९ हजार बराबरको मात्र कारोबार भएको हो ।
अघिल्लो कारोबार दिन बुधवार नेप्सेमा रू। १ अर्ब २३ करोड ३९ लाख ६३ हजार बराबरको कारोबार भएको थियो । असार १५ गतेपछि खुलेको शेयर कारोबारमा ६ प्रतिशत सर्किट लागेर निर्धारित अवधिभन्दा कम समय कारोबार भएको दिन बाहेक अन्य दिन रू।१ अर्बभन्दा बढीकै कारोबार भएको छ ।

बुधवार नेप्सेको अनलाईन कारोबार प्रणालीमा देखिएको समस्या र कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको अवस्थामा देशमा पुन ः लकडाउन हुने आशंकामा बिहीवारको कारोबारमा लगानीकर्ता आत्तिएको देखिन्छ ।

लगानीकर्तासँग सम्वन्धित् संघसंस्थाहरुले धितोपत्र दोस्रो बजारको विश्वास कायम राखी राख्न अनलाईन प्रणालीमा दोहोरिरहेको समस्या दिर्घकालिन रुपमै समाधान गर्नुपर्ने माग गरेका छन् । समस्या निम्त्याउने निकायको कमजोरीमाथि छानविन गरि कारवाही गर्नसमेत नियामक निकाय नेपाल धितोपत्र बोर्ड समक्ष उनीहरुले माग गरेका छन् ।

बिहीवार सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीले गरेको छ । यस कम्पनीको रू। ११ करोड ८१ लाख १५ हजार बराबरको शेयर कारोबार भएको हो । त्यस्तै दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू। ८ करोड ५४ लाख १६ हजार बराबरको शेयर कारोबार भएको हो ।

यो दिन सबैभन्दा बढी शेयरमूल्य गुराँस लघुवित्त वित्तीय संस्थाको बढेको छ भने महिला सहयात्रा लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी घटेको छ । महिला सहयात्राको शेयरमूल्य बिहीवार ६ दशमलव शून्य ६ प्रतिशतले घटेको हो भने गुराँस लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले बढेको हो ।

अजोड इन्स्योरेन्स र नेपाल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । अजोड इन्स्योरेन्सको प्रतिकित्ता रू। ३८ ले बढेर रू। ४२५ र नेपाल फाइनान्सको रू। १७ ले बढेर रू। १९५ पुगेको छ ।

कारोबारमा आएका १२ ओटा समूहको परिसूचक मध्ये विकास बैंकको शून्य दशमलव ६ प्रतिशत, होटलको २ दशमलव २७ प्रतिशत, वित्तको शून्य दशमलव ६२ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५१ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १३ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ६२ प्रतिशत परिसूचक बढेको छ ।

यस दिन बैंकिङ समूहको शून्य दशमलव ३३ प्रतिशत, व्यापारिक समूहको १ दशमलव १ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ४४ प्रतिशत, अन्य समूहको शून्य दशमलव ३८ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव शून्य ७ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ८४ प्रतिशत परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्