आज थप ३६० जनामा कोरोना पुष्टि, उपत्यकाका मात्रै ८७ जना, २३३ जना डिस्चार्ज

काठमाडौँ, साउन २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर ९ हजार ४ सय ७० क्वारेन्टिनमा रहेका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ रहेको छ।

यस्तै काठमाडौं उपत्यकामा आज  कोरोना भाइरसका ८७ जना संक्रमित थपिएका छन्।पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ७६ जना, भक्तपुरका १ जना र ललितपुरका १० जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै उपत्यकामा संक्रमितको संख्या ८७१ पुगेको छ। संक्रमितहरु काठमाडौंमा ६६९, ललितपुरमा १२४ र भक्तपुरमा ७८ जना छन् ।

प्रतिक्रिया दिनुहोस्