अर्थतन्त्रमा कोरोना प्रभाव : एसियाली शेयर बजारमा गिरावट

काठमाडौं, साउन २३ । अधिकांश एशियाली सेयर बजारको कारोबार शुक्रवार ओरालो लागेको छ । संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार तनावका साथै कोरोना भाइरसका कारण सृजना भएको आर्थिक मन्दीको प्रभाव सेयर बजारमा परेको हो । लगानीकर्ता शुक्रवार सार्वजनिक हुने अमेरिकी रोजगारको मासिक प्रतिवेदनको समेत प्रतिक्षा गरिरहेका छन् । यो प्रतिवेदनले अमेरिकी अर्थतन्त्रको पछिल्लो अवस्थालाई चित्रण गर्दछ ।

अमेरिकी सेयर बजारमा लगानीकर्ता उत्साहित देखिएका छन् । अमेरिकी संसद र ह्वाइट हाउसले अमेरिकी अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउन थप आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी सम्झौतामाथि छलफल गरिरहेको बताएको छ । एशियाली सेयर बजारमा भने कोरोना भाइरसको संक्रमण बढेसँगै थप असर परेको देखिएको छ । खासगरी दक्षिणपूर्वी एशियाली मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि थप चिन्ता बढेको बताइएको छ ।

सिंगापुरको मिजुहो बैंकका हायाकी नारिताले लकडाउन खुकुलो बनाएसँगै अर्थतन्त्र पुनरुत्थान हुने अपेक्षा गरिए पनि कोरोना संक्रमणको दोस्रो लहर शुरु हुने खतरा रहेको बताइन् । चीन–अमेरिका व्यापार तनावले समस्या अरु बढाएको उनले बताइन् ।

जापानी सेयर बजार निक्की शून्य दशमलव ६ प्रतिशतले घटेर २२ हजार २७३ विन्दुमा पुगेको छ भने अस्ट्रेलियाको एस एन्ड पी शून्य दशमलव ७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी शून्य दशमलव २ प्रतिशत, हङकङको हाङसेङ १ दशमलव ८ प्रतिशत तथा चीनको साङ्घाई कम्पोजिट १ दशमलव २ प्रतिशतले घटेको छ ।

टोयोटा मोटर कर्पको सेयर भने बिहानीपख २ प्रतिशतले बढेको छ भने निन्टेन्डो कम्पनीको सेयर पनि २ दशमलव ३ प्रतिशतले सुधार भएको छ । जापानी भिडियो–गेम निर्माता निन्टेन्डोको नाफा बढेसँगै सेयर मूल्य बढेको हो ।

गएराति अमेरिकी डाउजोन्स शून्य दशमलव ७ प्रतिशतले वृद्धि भएर २७ हजार ३८७ विन्दुमा पुगेको थियो । नास्डाग कम्पोजिटमा पनि १ प्रतिशतले सुधार भई ११ हजार १०८ विन्दुमा पुगेको थियो ।

अमेरिकामै गत साता करीब १२ लाख कामदारले बेरोजगारी भत्ताका लागि आवेदन दिएको प्रतिवेदन शुक्रवार सार्वजनिक भएको छ । अघिल्लो हप्ताको तुलनामा यो संख्यामा सामान्य कमी आएको अमेरिकी अधिकारीले जनाएका छन् ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेको छ । सुनको मूल्य १२ डलरले वृद्धि भई प्रतिऔंश २ हजार ८१ डलर पुगेको छ ।

बेन्चमार्क अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल १२ सेन्टले घटेर ४१ दशमलव ८३ डलरमा न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा कारोबार भएको छ । बे्रन्ट कच्चा तेलमा भने प्रति ब्यारेल १० सेन्ट वृद्धि भई प्रतिब्यारेल ४४ दशमलव ९० मा कारोबार भएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्