तत्काल पठपनपाठन गराउन सम्भव छैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं , साउन २३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयमा विद्यार्थी बोलाएर तत्काल पठपनपाठन गराउन सम्भव नभएको बताएका छन् ।शुक्रबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा उनले ‘फेस टु फेस पठनपाठन’ तत्काल संभव नरहेको बताएका हुन् ।

सरकारले फेस टु फेसको विकल्प के के हुन सक्छ भनेर अध्ययन गरिरहेको भन्दै मन्त्री पोखरेलले केही विकल्प कार्यान्वयनमा आइसकेको पनि बताए ।सामुदायिक विद्यालयका शिक्षकलाई आफू कार्यरत विद्यालयमा पुगेर पठनपाठनको नयाँ विकल्पअनुसार काम गर्न पनि मन्त्री पोखरेलले आग्रह गरे ।

विद्यार्थीलाई घरमै गएर पढाउने जस्ता काम पनि भएको भन्दै उनले यो विकल्प कर्णाली प्रदेशमा प्रभावकारी देखिएको मन्त्री पोखरेलले बताए ।उनले सबै शिक्षकलाई साउन मशान्तभित्र विद्यालयमा पुग्न पनि आग्रह गरे । ‘यो वा त्यो नाममा अब स्कुलसंग टिचर नगाँसिने भन्ने हुदैन । जान गाह्रो भयो भने पासका लागि गृह मन्त्रालयले मध्यस्तता गर्छ । पीसीआर ९परीक्षण० गर्नु पर्ला त्यो पनि गर्नुस, स्थानीय तहले त्यसको ब्यवस्थापन गर्छ’ मन्त्री पोखरेलले भने ।

पठनपाठन बन्द हुँदा लाखौं विद्यार्थी प्रभावित भएको र विद्यार्थीको ध्यान पढाइबाट अन्यत्र केन्द्रित हुन थालेको भन्दै सांसदहरुले पढाइ कहिलेदेखि सञ्चालन हुन्छ भनी सोधेका थिए ।

पुरै शैक्षिकसत्र खेर जान नदिने गरी सरकारले विभिन्न तहका परीक्षा लिने र पठन पाठन गराउने विषयमा विज्ञसँग सल्लाह लिएको पनि मन्त्री पोखरेलले बताए ।

यता राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी गरे पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि अभिभावक बालबालिकालाई विद्यालय पठाउने नपठाउने द्विविधामा छन् ।

कागेश्वरी मनोहरा नगरपालिकाले साउन १ गतेदेखि नै नगर क्षेत्रका शैक्षिक संस्था खोल्ने तयारी गरेको थियो । यसका लागि असार १५ गतेदेखि विद्यार्थी भर्ना आह्वान गरेको थियो । साउनदेखि विद्यालय चलाउने वातावरण बनेन । भदौदेखि पनि विद्यालय चल्नेजस्तो वातावरण नदेखिएको अभिभावकको गुनासो छ ।

कागेश्वरीको ४ नं वडाका अभिभावक श्यामचन्द्र पुडासैनी विद्यालयमा बालबालिका पठाउन सक्ने वातावरण नदेखिएको बताउँछन् । शिक्षा मन्त्रालयले साउन दोस्रो साता भदौदेखि विद्यालय सञ्चालन गर्ने गरी तयारी गरेको सूचना सार्वजनिक गरेकामा साउन तेस्रो साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १२ वर्षमुनिका बालबालिकालाई घरबाहिर ननिस्कन आह्वान गरेसँगै अन्योल बढेको उनले बताए ।

गोकर्णेश्वर नगरपालिकाले भदौ १ गतेदेखि शैक्षिक संस्था खोल्ने निर्णय गरी साउन १८ गतेदेखि विद्यार्थी भर्ना गर्ने निर्णय नगर शिक्षा समितिको बैठकबाट गरेको थियो । नगरपालिका शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकाल संस्थागत एवं सामुदायिक विद्यालयका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको बताउँछन् ।

शङ्खरापुर नगरपालिका शिक्षा शाखाप्रमुख बोधराज निरौलाले केन्द्रीय तहबाट विद्यालय खोल्ने सम्बन्धमा फरक फरक पत्र आएकाले स्थानीय तहबाट कुनै निर्णय नभएको बताए ।

कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले सयौँ विद्यार्थी जम्मा गरेर कक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको उनले सुनाए ।

बूढानीलकण्ठ नगरपालिकाले पनि यसअघि नै विद्यालय सञ्चालन गर्ने निर्णय गरेकामा राजधानीमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि अन्योल भएको छ ।

नगरपालिकाको शिक्षा शाखाप्रमुख जगन्नाथ उपाध्याय मन्त्रालयबाट साउन १२ गते भएको परिपत्र अनुसार भदौ १ गतेदेखि विद्यालय सञ्चालनको तयारी गरेकामा पछिल्लोपटक नगर क्षेत्रमै सङ्क्रमण बढ्न थालेकाले अन्योल देखिएको बताउँछन् ।

स्थानीय तह सञ्चालन ऐन, २०७४ अनुसार माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने दायित्व स्थानीय तहमा छ । यस क्षेत्रका स्थानीय तहले विद्यालय सञ्चालनका लागि तयारी गरे पनि कोरोनाका बिरामी बढेसँगै अन्योल देखिएको भन्दै केन्द्रीय तहबाट छिटो निर्णय हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्