कोरोना त्रासः बैठक कम गर्न राष्ट्रिय सभाअन्तर्गतका चार समितिलाई अध्यक्षको आग्रह

काठमाडौं, साउन २७ ।कोरोना महामारी बढेपछि संसदीय समितहरूको बैठक कम बस्न थालेको छ। यसैबीच यता राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय सभाका चार समिति सभापतिलाई भेटेर कोरोना महामारी बढिरहेका कारण समिति बैठकहरू कम गर्न सुझाब दिएका छन्।कोरोना भाइरस ९कोभिड–१९० को जोखिम रहेको भन्दै राष्ट्रियसभाका चारवटै समितिका सभापतिलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् ।

सोमबार सिंहदरबारमा चार समिति सभापतिसँगको भेटमा उनले बैठक बस्ने अवस्था नरहेको बताए।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारीले भने, ‘अध्यक्षसँग भेटघाट भयो। महामारीका वेला बैठक बस्न उपयुक्त हुँदैन भन्ने कुरा थियो। मैले त हाम्रो समितिको बैठक नै अब १५ दिनपछि बोलाउने सोच बनाएको छु। त्यसपछि फेरि माहौल हेरेर १५ दिनपछि बोलाउने बताएँ ।’

दिगो विकास तथा सुशासन समितिले मंगलबार १ बजे बोलाएको बैठक पनि स्थगित गरेको छ।राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले जथाभावी बैठक नराख्न निर्देशन दिएपछि मंगलबारका लागि तय भएको दिगो विकास तथा सुशासन समिति बैठक स्थगित भएको छ ।

बार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीमा दिगो विकास तथा सुशासन समिति बैठक बोलाएको थियो । तर, विशेष कारणवश भन्दै समितिले बैठक स्थगित भएको सूचना जारी गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति सदस्य प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । वैज्ञानिक वन व्यवस्थापनबारे अनुगमनमा गएका यादवसहित संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्