देउवाले हालै गठन गरेका विभाग खारेज गर्न कांग्रेसका १२ केन्द्रीय नेताको माग

काठमाडौं, साउन २७ । नेपाली कांग्रेसका १२ जना केन्द्रीय नेताले सभापति शेरबहादुर देउवाले हालै गठन गरेका पार्टीका विभिन्न विभाग खारेज गर्न माग गरेका छन् ।

मंगलबार विज्ञप्ति निकालेर नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदीप पौडेल, सरिता प्रसाइँ, रामकृष्ण यादव र किरण यादवले गठन गरेका विभाग खारेज गर्न र नयाँ गठन नगर्न सभापति देउवालाई आग्रह गरेका छन् ।महाधिवेशनको मुखैमा विभागहरू गठन गरेर सभापति देउवाले महाधिवेशन निष्पक्षतामा प्रश्न उठाउने काम गरेको भन्दै गगन थापालगायतका केन्द्रीय सदस्यहरुले खारेजीको माग गरेका हुन्।

पार्टीका सबै तहको महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग गठन र विभिन्न नियुक्ति गर्नुले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै उनीहरुले यो काम आचारसंहिताको ठाडो उलंघन भएको पनि बताएका छन् ।

पार्टी सभापति विधानको संरक्षक, पालक र कार्यान्वयनकर्ता हो भन्दै नेताहरुले कस्तो कांग्रेस बनाउने, विधिको पालनाको सुनिश्चितता कसरी गर्ने र नयाँ पुस्तालाई आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यास स्थापित भएको पार्टी हस्तान्तरण कसरी गर्ने भन्ने दायित्व देउवाकै भएको बताएका छन् ।

‘सभापति व्यक्ति होइन, संस्था हो, उहाँसँग पार्टीलाई गुट उपगुटमा विभाजित रहन दिएर कांग्रेसको इतिहास, बिरासत, परिम्परा र पद्धतिलाई उल्लंघन गर्ने सुविधा छैन’ नेताहरुले भनेका छन् ।

अस्वस्थ भागवण्डालाई संस्कृति बनाएर पार्टीका संघर्षशील नेता कार्यकर्तालाई समान अवसर र न्यायबाट वञ्चित गर्ने अधिकार पनि सभापति देउवासँग नभएको उनीहरुले बताएका छन् ।

‘सिद्धान्त र व्यवहारको पटक्कै तालमेल नहुने गरी मनोगत चाहनामा पार्टी चलाउने विशेषाधिकार पनि छैन, आफ्ना समकालीन साथीहरु र पार्टीको ठूलो पंक्तिको चित्त दुखाएर एक्लै हिँड्ने सहुलियत पनि छैन,’ नेताहरुले भनेका छन् ।सभापति देउवाले पार्टीभित्र विरोध हुँदाहुँदै आइतबार दश र सोमबार पाँचवटा विभागमा मनोनयन गरेको थिए। केन्द्रीय सदस्यहरुले जारी गरेको विज्ञप्तिमा सभापतिबाटै गुट उपगुटलाई बढावा दिनु आपत्ति रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्