राष्ट्रिय फुटबल टोलीका २३ खेलाडीको पीसीआर परीक्षण

काठमाडौं, साउन २७ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका २३ खेलाडीको पीसीआर परीक्षण गरेको छ । एन्फाले मंगलबार पाटन अस्पतालमा दोस्रो दिन २३ जना खेलाडीसहित ३० जनाको पीसीआर परीक्षण गरेको हो ।

बन्द प्रशिक्षण सुरु गर्न क्वारेन्टिनमा बसेका खेलाडीहरु मध्येबाट ११ खेलाडी, दुई अफिसियल र १२ पदाधिकारी गरी २५ जनाको पीसीआर परीक्षण सोमबार सकिएको थियो । त्यस्तै एन्फाले आज बाँकी २३ खेलाडी र ६ अफिसियलको पीसीआर परीक्षण गराएको हो ।

मंगलबार परीक्षण गरिएका खेलाडी र पदाधिकारीको रिपोर्ट भने दुई–तीन दिनमा आउने जनाइएको छ । हिजो र आज गरि जम्मा ५४ जनाको परीक्षण भएको हो ।

यसअघि ललितपुर महानगरपालिकाले क्वारेन्टिनका रुपमा प्रयोग गर्दै आएको एन्फा होस्टेल समयमै खाली गर्न नसकेपछि खेलाडीको पीसीआर परीक्षणमा ढिलाइ भएको थियो ।

फिफा विश्वकप २०२२ एएफसी एसियन कप २०२३ को संयुक्त छनोटको तयारीमा रहेको एन्फाले भदौ १ बाट प्रशिक्षण थाल्ने तयारी गरेको छ । एन्फाले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई तीन समूहमा राखी प्रशिक्षण गर्ने जनाएको छ । नेपालले विश्वकप छनोटअन्तर्गतका बाँकी तीन खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।

मंगलबार पीसीआर परीक्षण भएका खेलाडी र पदाधिकारी

खेलाडी : तेज तामाङ, बिकेस कुथु, आशिष लामा, अजित भण्डारी, आरिक विष्ट, सेसेहाङ अंगिदेम्बा, बिक्रम लामा, अमित तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अविशेक रिजाल, सुवास गुरुङ, अनन्त तामाङ, सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेमजुङ, विकेस खवास, जर्ज प्रिन्स कार्की, सुजल श्रेष्ठ

अफिसियल : मदुसुधन उपाध्याय, कृष्ण भक्त मानन्धर, बिकास मल्ल, बिबेक सुवेदी, युजल श्रेष्ठ, राजु डंगोल

प्रतिक्रिया दिनुहोस्