भदौ ३१ गतेसम्म सीमा नाका बन्द गर्ने सरकारको निर्णय, भन्यो-सामूहिक भेला हुने गतिविधि नगर्नुस्

काठमाडौं, साउन २७ । सरकारले अन्तराष्ट्रिय सीमा नाका भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

सरकारका अर्थमन्त्री एवं सूचना तथा प्रविधिमन्त्री युवराज खतिवडाले मंगलबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सो कुरा बताएका हुन।यसअघि साउन ३२ सम्मका लागि सीमा नाका बन्द गरिएको थियो।

सरकराले सीमा नाकाबाट प्रवेश गर्ने तोकेको प्रवेश विन्दु पनि घटाएको छ। अब १० ठाउँबाट नेपाल प्रवेश गर्न दिने भएको हो। सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ।

यसअघि स्थल मार्गबाट नेपाल आउन २० वटा नाका तोकेको थियो।यस्तै सरकारले सामूहिक गतिविधि हुने गतिविधीमाथि रोक लगाएको छ।सरकारले अर्को निर्णय नहुँदासम्म त्यस्ता गतिविधी नगर्न/नगराउन निर्देशन दिएको हो।

यसैगरि शैक्षिक क्रियाकलाप, तालिम, खेलकुद प्रशिक्षणलगायत गतिविधी अर्को निर्णय नहुँदासम्म नगर्न नगराउन पनि सरकारले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्