भट्टलाई तत्काल लगानी बोर्डको सीईओको काम गर्न नदिन उच्च अदालतको आदेश

काठमाडौं , साउन २७ । पाटन उच्च अदालतले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई तत्काल काम गर्न नदिन आदेश दिएको छ । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।भट्टको नियुक्तिविरुद्ध अधिवक्ता जयबहादुर भुजेलले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले तत्कालको लागि काम नगर्न आदेश दिएको हो ।

मंगलबार मुख्य न्यायाधीश नकहुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले जानकारी दिए ।अदालतले भट्टलाई पनि बोर्डको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कामकाज नगर्न आदेश दिएको छ ।

अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्तिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । अदालतको आदेशमा भनिएको छ, ‘मन्त्रिपरिषद्को साउन १९ गतेको सो निर्णय कार्यान्वयन नगर्नु नगराउनू, जे अवस्थामा छ सोही अवस्थामा राख्नू ।’

साथै सो दिन अदालतले एमिकस क्युरी समेत डाकेको अदालतका उपरजिष्ट्रार शम्भुप्रसाद रेग्मीले जानकारी दिए । अदालतले साउन ३२ गते पक्ष र विपक्ष दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्