नेकपाको सचिवालय बैठक आज बस्दै, कार्यदलले कार्यादेश पाउने

काठमाडौं, भाद्र १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बस्ने बैठकमा पार्टीको विवाद सुल्झ्याउन गठन गरिएको कार्यदललाई औपचारिकता र कार्यादेश दिने वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

‘बैठकमा विवाद हल गर्न गठित कार्यदललाई औपचारिकता दिने र कार्यादेश दिइने छ । त्यस्तै पार्टी भित्रका अन्य विषयमा पनि छलफल हुन्छ,’ खनालले भने ।अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको छलफलबाट पार्टीको विवाद मिलाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।

कार्यदललाई पार्टी कमिटीबाट अनुमोदन गरेर वैधानिकता दिनुपर्ने भन्दै वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बोलाउन माग गरेका थिए ।त्यस्तै बैठकमा सरकारको समीक्षा गर्दै मन्त्रिपरिषद् पुनर्गठनको विषयमा समेत छलफलको तयारी भएको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार ओलीले प्रधानमन्त्री भइसकेकाबाहेकका सचिवालयमा रहेका नेतालाई समेट्ने गरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयलाई छलफलमा ल्याउने तयारी गरेका छन् ।प्रधानमन्त्रीले उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधानमन्त्रीसहितको मन्त्रालय दिन कानूनी परामर्श लिएको बताइएको छ । त्यस्तै ओली, प्रचण्ड र नेता नेपाल तीनै वटा गुटका तर्फबाट बराबरी मन्त्री बनाउने तयारी रहेको पनि बालुवाटार स्रोतले जनाएको छ ।

अब प्रधानमन्त्री ओलीले नेपाल समूहबाट सुरेन्द्र पाण्डे, भीम रावल तथा प्रचण्ड पक्षका जर्नादन शर्मा, पम्फा भूषाल र प्रभु साहलाई मन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।यता नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०भित्रको जारी विवाद समाधान उन्मुख देखिएको छ।

शुक्रबार बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए।राजीनामा नदिने ओलीको अडान र अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद त्याग्नुपर्ने ओली इतर समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि पटक पटक स्थगन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्