गौरा सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट पर्वः प्रधानमन्त्री

काठमाडौँ , भदौ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्राचीन र विशिष्ट सांस्कृतिक पर्व भएको उल्लेख गरेका छन् । यस्तो उल्लेख गर्दै उनले भनेका छन् यसले परिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको छ ।

आज दिएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले सांस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकाताका प्रतीक रहँदै आएको महिलालाई जन्मस्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो संस्कृतिमा स्थानअनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम नै गौरा पर्व हो भनेका छन्।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त छ । विविधताबीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेको छ । यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धितर्फ अग्रसर हुन यस अवसरमा म सबैमा हार्दिक आह्वान गर्दछु” सन्देशमा भनिएको छ, “विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को यस प्रतिकूल अवस्थामा जीवनरक्षाका निम्ति सचेत भएर परम्पराहरुको निरन्तरतामा पनि अग्रसर रहन आवश्यक छ ।”

यता बिहानै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

देउवाले एक सन्देशमार्फत विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्नलायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको र त्यसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरेका छन् ।

अघिल्ला वर्ष यति बेला घरआँगन, मन्दिर र देवालयमा महिला–पुरुष देउडा खेल्दै गरेका हुन्थे । रोजगारीका लागि परदेसिएकाहरू घर फर्केपछि गाउँघरमा छुट्टै चलहपहल हुन्थ्यो । देउडा, चैत, धमारीलगायत सांस्कारिक गीत गुञ्जिन्थे । सुदूरपश्चिमेलीको मौलिक पर्व गौरामा विगतमा देखिने यो उमंग यस वर्ष भने देखिएन । कोरोना संक्रमणको त्रासले सहर बजार मात्र होइन, गाउँघर पनि प्रायः सुनसान छन् ।

प्रतिक्रिया दिनुहोस्