पेस्तोल देखाएर रकम असुल्ने गिरोहका ५ जना पक्राउ

काठमाडौं, भदौ १७ । मोरङमा पेस्तोल देखाएर रकम असुल गर्ने गिरोहका ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई विराटनगर जलजला मोडमा रहेको चाइना बजारमा काम गर्ने २७ वर्षका राजु साह, कटहरी गाउँपालिका–२, आदर्शनगरका २६ वर्षीय किसन साह र २८ वर्षीय रविन शर्मा, २७ वर्षीय अभिषेक राय र सप्तरी बोदेबर्साइन–८ का नन्दकिशोर साह रहेका छन् ।

पक्राउ परेकाहरुले केही समयअघि विराटनगरका दुई व्यापारीलाई धम्की दिएर रकम मागेका थिए । तीमध्ये एक जनाबाट ५ लाख रुपैयाँ असुलेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

असार २५ गते र साउन १३ गते उनीहरुले बिराटनगरका व्यापारीलाई धम्क्याएर रकम मागेका थिए । उनीहरुले २५ असारमा रकम माग गरेका व्यापारीले विराटनगर गुद्री बजार कञ्चनबारी चोकमा पुगेर एक पटक एक लाख र एक पटक चारलाख रकम बुझाएका थिए । अर्का ब्यापारीले भने पटक पटक धम्की आएपछि प्रहरीलाई सूचना दिएका थिए ।

यही समूहले चाइना बजार सञ्चालक नरेश साहको घरबाट ११ लाख चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्