नर्वेले नेसन्स लिग फुटबलः आयरल्याण्डविरूद्ध नर्वेको शानदार जित

काठमाडौं, भदौ २३ । नर्वेले नेसन्स लिग फुटबलमा नर्दन आयरल्याण्डविरूद्ध शानदार जित निकालेको छ ।सोमबार राति वाइन्डर पार्कमा भएको खेलमा नर्वेले नर्दन आयरल्याण्डलाई ५–१ गोल अन्तरले हराएको हो ।

नर्वेको जितमा इर्लिङ हाल्याण्डले दुई गोल गरे । उनले थप एक गोलका लागि अवसर सिर्जना गरेका थिए ।मोहम्मद एलौयोनौसीले खेलको दोस्रो मिनेटमा नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए । पेड्डी मेकनेयरले त्यसको तीन मिनेटपछि घरेलु टोली नर्दन आयरल्याण्डका लागि बराबरी गोल फर्काएका थिए ।

सातौं मिनेटमा हाल्याण्डले नर्वेलाई २–१ ले अघि बढाएका थिए । १९औं मिनेटमा क्रिस्टल प्यालेसका फरवार्ड अलेक्जेन्डर सोरलाथले नर्वेलाई ३–१ को अग्रता दिलाए ।

दोस्रो हाफको दोस्रो मिनेटमै हाल्याण्डको क्रसलाई सदुपयोग गर्दै अलेक्जेन्डरले नर्वेको अग्रतालाई फराकिलो पारे ।हाल्याण्डले ५८औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई ५–१ को शानदार जित दिलाए ।

समूह इमा रोमानिया २ खेलबाट ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको नर्वे र अष्ट्रियाको समान ३ अंक छ । नर्दन आयरल्याण्ड १ अंकसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्