नेकपाको संगठन विभाग भयो सक्रिय: मंसिरभित्र सदस्यता नविकरण गरिसक्ने निर्णय

काठमाडौं , भदौ २८। सत्तारुढ दल नेपाल कम्युनिस्ट बपार्टी ९नेकपा० ले पार्टी सदस्यहरुको सदस्यता नविकरण मंसिर महिनाभित्र गरिसक्ने भएको छ । पार्टी विवाद साम्य भएलगत्तै आइतबार संगठन विभागको बैठक बसेर सदस्यता नविकरणबारे यस्तो निर्णय गरेको हो ।

यो सँगैनेकपाभित्रको आन्तरिक विवाद समाधान भएसँगै उपाध्यक्ष वामदेव गौतम नेतृत्वको संगठन विभाग पनि सक्रिय बनेको छ।बैठकले आगामी मंसिरभित्र सदस्यता नविकरण र नयाँ सदस्यबारे सबै काम सक्नेगरी काम गर्ने निर्णय गरेको संगठन विभाग उपप्रमुख जनार्दन शर्माले जानकारी दिए ।

नेकपामा २०७४ सालदेखि कुनै पनि पार्टी सदस्यको सदस्यता नवीकरण भएको छैन। तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाका ८ लाख सदस्य रहेको बताइएको छ । यद्यपि सदस्यहरुको अभिलेख चुस्त दुरुस्त नभएकाले नेकपालाई सदस्यतासम्बन्धी विषय टुंग्याउन सकस पर्ने देखिएको छ ।

त्यस्तै, संगठन विभागको बैठकले विभागको सदस्य र सचिवमा ज्ञानबहादुर भुजेललाई नियुक्त गर्न पार्टी सचिवलाई सिफारिस गरेको पार्टी कार्यालयका सचिव रिजालले बताए।

संगठन विभागको सचिवमा सिफारिस गरिएका भुजेल नेकपाका केन्द्रीय सदस्य हुन्।
यता यसअघि शुक्रबार सम्पन्न स्थायी समिति बैठकले आगामी कात्तिक १५ देखि १७ गतेसम्म चैतमा हुने महाधिवेशनको तयारीका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो ।

नेकपाको एकता महाधिवेशन आगामी चैत २५ देखि ३० सम्म काठमाडौमा गर्ने निर्णय गत माघमा सम्पन्न केन्द्रीय समिति बैठकले गरेको थियो । त्यसका लागि नेकपाले आगामी असोज महिनाभित्र एकताका सबै काम सम्पन्न गर्ने पनि निर्णय गरिसकेको छ ।

पार्टीमा देखिएको आन्तरिक विवाद साम्य भएसँगै नेकपा अब महाधिवेशन केन्द्रीत गतिविधिमा लागि पर्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतम, उपप्रमुख जनार्दन शर्मा, सदस्यहरू मातृका यादव, खगराज भट्ट तथा प्रदेशका इन्चार्जहरू सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्