कुलमान घिसिङ नियुक्तिमाथि प्रधानमन्त्रीकै कानुनी प्रश्न, किन रोके नियुक्ति ?

काठमाडौं, भदौ ३० । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन: नियुक्ति दिने चर्चा चले पनि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा भने यस बारे कुनै कुरा नै उठेन ।

मन्त्रीपरिषद्‍ बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने सबैको आशा थियो ।तर, प्रधानमन्त्री केपी शर्मा ओलीले नै घिसिङलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने प्रस्तावमाथि कानुनी प्रश्न उठाए ।यतिसम्म कि सोमबार साँझ बसेको क्याबिनेट बैठकमा कुलमानको विषयमा कुरै उठेन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी प्रश्न उठेकाले यसबारे परामर्श गर्न जरुरी रहेको भन्दै सोमबारको मन्त्रिपरिषद् बैठकमा नियुक्ति प्रकृयालाई टारिदिएका छन् । यता नेपाली जनताले फेरि घिसिङलाई प्राधिकरणको निर्देशकमा नियुक्ति भएको हेर्न चाहेका छन् ।

दैनिक १८ घण्टासम्मको लोडसेडिङ अन्त्य र विद्युत चुहावट कम गर्न सकेका घिसिङलाई सामाजिक संजालमा सर्वसाधारण, कलाकार लगायतले प्राधिकरणको कार्यकारी निर्देशकमा पुन नियुक्ति दिन माग गरिरहेका छन् ।

बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले प्रस्ताव लगेका थिए । प्रधानमन्त्रीले सुरुमै कानुनी प्रश्न रहेकाले यसमा आफूले थप परामर्श गर्ने बताएपछि यो विषय बैठकमा मुल एजेण्डाको रुपमा प्रवेश नै हुन पाएन ।कुलमानको पक्षमा ठूलो जनलहर छ ।

सबैले सुरकारले कुलमानलाई नै प्राधिकरणको निर्देशकमा नियुक्ति गर्न आग्रह गरिरहेका छन् । यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कलमानलाई पुन नियुक्ति दिनेबारे ओलीसँग छलफल गरेका थिए ।

छलफलमा २ बर्षे कार्यकाल थप गर्नेबारे ओली सहमत भएको बताइएको थियो । तर अहिले भने कुलमानलाई दोहोर्याउन ओलीले खासै रुची देखाएका छैनन् । तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले २०७३ साल भदौ २९ गते घिसिङलाई प्राधिकरणमा नियुक्त गरेका थिए । सोअनुसार घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिएको छ ।

कुलमानको चार वर्ष अवधिमा ३४ अर्ब सिञ्चित नोक्सानमा रहेको प्राधिकरणलाई करिब ५ अर्ब सिञ्चित नाफामा पुर्याउनुका साथै वार्षिक ८ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणलाई ११ अर्ब नाफाको अवस्थामा पुर्याउन उनको महत्वपूर्ण भूमिका छ ।कुलमानको ४ वर्षे कार्यकाल सकिएपछि प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।

कुलमानलाई दोहोर्याउन जनस्तरबाट पनि सरकारमाथि दबाव छ भने घिसिङको पुनः नियुक्तिको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शनसमेत भएको छ ।उनको बारेमा सोमबार सरकारले कुनै निर्णय नगरेपछि आक्रोसित युवाले माइतिघर मण्डलामा प्रदर्शन समेत गरेका हुन् । आन्दोलनरत युवाले कुलमानलाई प्राधिकरणमा नल्याउने खेल भइरहेको भन्दै सरकारको विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्