नेपालमा ह्वात्तै बढ्यो प्याजको मूल्य, यसकारण रोक्यो भारतले निर्यात

काठमाडौं , भदौ ३०। नेपालमा फेरि प्याजको मुल्य ह्वात्तै बढेको छ । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपालमा प्याजको मुल्य ह्वात्तै बढेको हो । यति मात्रै नभएर अहिले प्याज पाइनै छाडेको छ । फाटफुट कहि कतै कुनै पसलमा पाइन्छ त्यहि पनि छोइनसक्नु ।

भारतले प्याज निर्यात रोकेकोले प्याजको भाउ बढेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।यता भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहको भनाइ रहेको छ । भारतबाट प्याज आउन छोडेपछि नेपालमा पनि प्याज पाउनै छोडेको काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा आलु(प्याजको होलसेल व्यापार गर्दै आएका ब्यापारीको भनाइ छ ।

कुनै व्यापारीहरुसँग भएको प्याज पनि महँगोमा बिक्री भइरहेको छ । व्यापारीहरुले एक किलो प्याजको मूल्य ८० रुपैयाँभन्दा बढी लिने गरेको उपभोक्ताहरु बताउँछन् । जबकी अघिल्लो दिनसम्म प्याज ६६ रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो ।

भारतले निर्यात रोकेको बहानामा व्यापारीहरुले स्टकमा रहेको प्याजको कृत्रिम अभाव सिर्जना गर्दै महँगोमा बेचिरहेको आशंका उपभोक्ताहरुको छ ।

भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो । निर्यात बन्द गरेपछि बजारमा प्याज प्रशस्त पाइने र मूल्य पनि कम हुने भारत सरकारको विश्लेषण छ ।

क महिनामै तीन गुणाले मूल्य बढेपछि भारतले प्याज निकासी बन्द गरेको हो ।दक्षिणी राज्यमा अधिक वर्षाका कारण बाली प्रभावित भएपछि भारतमा प्याजको भाउ बढेको थियो । त्यसपछि आन्तरिक माग धान्‍न भन्दै भारतले सोमबारबाट प्याक निकासी रोकेको हो ।

भारत संसारको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता हो । नेपालसहित बंगलादेश, मलेसिया, श्रीलंकालगायत देश भारतीय प्याजमा निर्भर छन् ।भारतको विदेश व्यापार महानिर्देशनालयले तत्कालै कार्यान्वयनमा ल्याउने गरी जारी गरेको आदेश सोमबारबाटै कार्यान्वयनमा आएपछि प्याज आयात शून्य भएको छ । जसका कारण चाडपर्वको मुखमै भान्साको प्रमुख सामाग्री अभाव हुने देखिएको छ ।

एक महिनाभित्रमा भारतबाट आयात फेरि सुरु नभए दसैंमा प्याजको चरम अभाव हुनेछ ।यस अघि पनि भारत सरकारले प्याजको निर्यात रोके लगाएपछि नेपालमा प्याजको भाउ निकै उकालो लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्