एकैघरका तीन जनाको मृत्यु प्रकरण : यस्तो आयो पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट

काठमाडौं , भदौ ३० । गत शुक्रबार साँझ करिव ५ बजेको समयमा भक्तपुरको मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव भेटिएको थियो । घटना निकै रहस्यमय बन्यो । यस्तो एकै घरमा तिन जनाको लास भेटिनु अच्चमको कुरा पनि थियो । यो घटनाले सबै छक्क परे ।

यसैबीच तिनै जनाको पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट आएको छ । एकैघरका तीनै जनाको मृत्यु भएको भक्तपुर घटनामा तीन मध्ये दुई जनाको धारिलो हतियार प्रयोगबाट मृत्यु भएको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टबाट खुलेको छ ।

महानगरीय अपराध महाशाखाका एक अनुसन्धान अधिकृतले भने, ‘हामीले तीन वटै शव पोष्टमार्टका लागि पठाएका थियौं जसमध्ये दुई जनाको धारिलो हतियारको प्रयोगबाट मृत्यु भएको प्रारम्भिक रिपोर्ट आएको छ ।’ ती अधिकृतका अनुसार पोष्टमार्टमको लिखित रिपोर्ट आइनसकेकेको र मौखिक रुपमा धारिलो हतियारको प्रयोगबाट मृत्यु भएको भन्ने जानकारी अस्पतालले प्रहरीलाई दिएको छ ।

जसमध्ये सम्झना र सुशान्तमाथि धारिलो हतियार प्रयोग भएको पोस्टमार्टमको प्रारम्भिक रिपोर्टले देखाएको हो । शनिबार भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजको अस्पतालमा तीन जनाको पोष्टमार्टम गरिएको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘अस्पतालबाट मौखिक जानकारी आएपनि लिखित रिपोर्ट नआइसकेकाले यहि हो भनेर भन्न सकिने अवस्था छैन । तर दुई जनाको शवको प्रारम्भिक रिपोर्ट भने धारिलो हतियारकै प्रयोगबाट मृत्यु भएको देखिएको छ ।’

यता प्रहरीको प्रारम्भिक अनुसन्धानले आमा छोराको हत्यापछि सुदीपले आत्महत्या गरेको हुनसक्ने संकेत गरेको छ । यद्यपी यो अहिले अनुसन्धानकै चरणमा रहेकाले प्रहरीले प्रमाणसहित घटनाको तथ्य बाहिर ल्याउन भने सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्