यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सकिने

काठमाडौं, भदौ ३० । यस वर्षको शैक्षिक सत्र चैत मसान्तमै सम्पन्न हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले चालु शैक्षिक सत्र आगामी चैतमै सम्पन्न हुने बताएका छन् । कोभिड– १९ का कारण वैशाखमा पठनपाठन सुरु हुन नसके पनि शैक्षिक सत्रको अन्त्य चैत मसान्तमै हुने उनले बताए ।

शिक्षा मन्त्रालयले मंगलबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले कानुनी व्यवस्थाअनुसार नै विद्यालयको शैक्षिक सत्र चैत मसान्तमा सकिने बताए ।कोरोनाका कारण निषेधाज्ञा र लकडाउनले यति बेला पढाई प्रभावित भएको छ । यस्तो अवस्था भएकाले शैक्षिक सत्र सार्नुपर्ने विषयमा छलफल भइरहेका बेला केन्द्रले यस्तो धारणा सार्वजनिक गरेको हो ।

कोभिड– १९ का कारण गत चैतदेखि शैक्षिक संस्था बन्द भएका थिए । कोेभिडका कारण अवरुद्ध भएको नियमित पठनपाठन सुचारु गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयले गत १८ जेठमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, ०७७’ जारी गरेको थियो ।

त्यसका आधारमा १ असारदेखि वैकल्पिक कार्यक्रम सञ्चालन भएको थियो । १९ भदौमा अर्को ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ स्वीकृत गरेको छ । विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाले दूर तथा खुला शिक्षालाई औपचारिक मान्यता दिएको छ ।

केन्द्रका महानिर्देशक दाहालले पाठ्यवस्तु समायोजन ढाँचा ल्याएर पाठ्यक्रममा उल्लेख भएको विषयवस्तु नघटाएको, तर कति विषयवस्तु अभिभावकको सहयोगमा विद्यार्थी आफैँले अध्ययन गर्न सक्छन्, कति विषयवस्तुमा शिक्षकको सहयोग चाहिन्छ भन्ने छुट्याइएको बताए ।

कतिपय बालबालिकाको दूर तथा खुला शिक्षामा समेत पहुँच छैन । कोरोना भाइरस महामारीले गर्दा गत चैत पहिलो सातायता विद्यार्थीहरूले विद्यालयमा टेक्न पाएका छैनन् । विद्यालय बन्द छन् । यसरी बन्द हुँदा विद्यार्थी पनि अन्यौलमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्