भारतले प्याज निर्यात रोकेपछि नेपालमा कालो बजारी, बल्खुका ४ व्यापारी पक्राउ

काठमाडौं, भदौ ३१ । भारतले प्याज निर्यात रोकेपछि नेपालमा कालो बजारी सुरु भएको छ। मंगलबारसम्म करिव ४० देखि ५० रुपैयाँ किलोमो बिक्री भएको प्याज बुधबार विहान झण्डै दोब्बर वृद्धि भएर १३० रुपैयाँ प्रतिकेजी पुगेको छ।

उपभोक्ताले नियमित ग्राहक हैनौ भन्दै आफूलाई प्याज नदिएको भनि लिखित उजुरी महानगरपालिकामा दिएका छन्। काठमाडौं महानगरपालिकाले बुधबार गरेको अनुगमनबाट ब्यापारीलाई कालोबजारी गरेको ठहर गरी पक्राउ समेत गरेको छ।

काठमाडौं महानगरपालिका, कृषि शाखा प्रमुख हरिबहादुर भण्डारीले खरिद बिल नभएका, बिक्री बिल नभएका र मूल्यसूचिसमेत नराखेका व्यापारीहरुलाई आवश्यक कारवाही गरेको जानकारी दिए।

काठमाडौं महानगरपालिका भण्डारीको नेतृत्वमा गएको अनुगमन टोलीले बल्खु तरकारी बजारमा अनुगमन गर्दा करिव २ सय बोरा प्याज शंकास्पद तरिकाले राखेको भेटेपछि कारवाही गरिएको जनाइएको छ।

बजार अनुगमन टोलीका हरिबहादुर भण्डारी, माधव तिमिल्सेना, कालिमाटि प्रहरी चौकीका प्रहरी नायव निरीक्षक जनक श्रेष्ठ लगाएतको टोलीले बजारको अनुगमन गरेको थियो। यता काठमाडौंको बल्खुस्थित तरकारी बजारका चारजना प्याज व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीमा राखिएको छ । आज बिहान मात्रै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोलीले बल्खुलगायत विभिन्‍न तरकारी बजारको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १२० रुपैयाँमा बेचेको पाइएपछि व्यापारीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गतवर्ष पनि भारतले प्याजको निर्यात रोक्दा नेपालमा प्याजको मूल्य करिव २ सय प्रतिकेजी पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्