संविधानको पाँच वर्षः व्यवस्था बन्यो तर जनताले परिवर्तनको अनुभुति गर्न अझै पाएनन्

पार्वती पाठक , काठमाडौं, असोज ३ ।नेपालीका लागि  आजको दिन ऐतिहासिक र महत्वपूर्ण दिन हो । किन भने आज  संविधान जारी भएको दिन !  आज असोज ३ अर्थात संविधान दिवस । आज संविधान दिवस मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभा मार्फत् संविधान घोषणा भएको दिनको सम्झनामा असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ ।

नेपाली जनताको बलिदान, त्याग र तपस्याको प्रतिफलस्वरुप करिब ६५ वर्षको लामो प्रतिक्षापछि नेपालमा लोकतान्त्रिक गणतान्त्रिक राज्यव्यवस्थासहितको संविधान जारी गर्ने कामले सफलता पाएको थियो ।

राष्ट्रपतिबाट जारी भएको संविधानले पाँचवर्ष पूरा गर्दैछ तर, यता नागरिकका अपेक्षा र चाहना भने अझै पूरा हुन् सकेका छैन । संविधान बनेको पाँच वर्ष वितिसक्दा पनि आम जनाताका असन्तुष्टिका गुनासा अझै पनि रोकिएका छैनन्  ।

नेपालको इतिहासको विभिन्न कालखण्डमा जनताले परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएका छन् । पटक–पटक शासनमा मात्र परिवर्तन भयो तर जनताको जीवन कहिल्यै परिवर्तन हुन सकेन । केहि तराई–मधेश केन्द्रित दल संविधान संसोधनबारे असन्तुष्ट छन् । संविधानले देशलाई संघीय व्यवस्थामा लगेको हो र अझै पनि संघीयताले सक्रिय रुपमा काम गर्न सकेको अवस्था भने देखिदैन् ।

जनताको खुसीका लागि भन्दै नेताहरुले धेरै पटक संविधान फेरे, संविधान संशोधन गरिए तर, राणाकालदेखि गणतन्त्रसम्म आइपुग्दा शासक र नेताहरुमा जनताको आधारभूत आवश्यकतापूर्ति र उनीहरुमाथीको अत्याचार रोक्न सक्ने व्यवहार देखिएन । आज नेपाली जनताले चाहेअनुरुपको संविधान प्राप्त गरेका छन् तर जनताका समस्या भने झन्–झन् बढ्दै गएका छन् । एकातिर जनताको जिउधनको रक्षा गर्नुपर्ने दायित्व राज्यले पूरा गर्न नसकेको आम गुनासो छ । जनताको जिउधनको रक्षाका लागि राज्य पछिललो समय चुकेको देखिन्छ ।

संविधानसभाबाट बनेको संविधान भए पनि यसको अन्तरवस्तुलाई लिएर सिंगो देश एकै ठाँउमा देखिदैन, राजनीतिक मतभेद अझै कायमै छ ।संविधानको मर्म र भावनाअनुरुपको शासन व्यवस्था सञ्चालन हुन सकेको छैन ।एकातिर संघीयताको कारण राज्यले थप आर्थिक भार बहन गर्नुपरेको छ ।

संविधानसभाद्वारा जारी संविधान कार्यान्वयनको बाँकी काम पुरा हुन सकेका छनैन् संविधानअनुसार बन्नुपर्ने कतिपय संरचनाको निर्माण र संविधान कार्यान्वयनका कतिपय काम बाँकी रहे पनि यसको पूर्ण कार्यान्वयन भने अझै सम्म हुन सकेको छैन् ।

संविधान एक गतिशील दस्तावेज भएकोले कतिपय असन्तुष्टिहरुलाई संविधानभित्रै रहेर सम्बोधन गर्न र यसलाई थप परिष्कृत गर्न सकिनेतर्फ सबै पक्षको ध्यान जान जरुरी छ ।‘समृद्ध नेपाल, सुखी नेपाली’का लागि संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस्