कहिले खुल्छन् स्कुल ? ९५ प्रतिशतले वैशाखयता पाएनन् पूरा तलब , सरकार मौन

पार्वती पाठक , काठमाडौं , असोज ४ । नेपालमा वैशाख पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो । विद्यार्थीहरू अघिल्लो कक्षामा पुगेकोमा उत्साहित हुँदै नयाँ पाठ्यपुस्तकसँग रमाउँथे । तर, यसवर्ष संसारभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को प्रभाव नेपालमा पनि पर्‍यो । कोरोनाले विद्यार्थीलाई स्कुल भन्दा घर भित्रै थुनीदियो र उनीहरुले नयाँशैक्षिकसत्रको अनुभुती पनि गर्न पाएनन् । स्कुल कलेज  लामो समय सम्म बन्द रहे र अहिले पनि यो क्रम जारी नै रहेको छ ।सरकारले २०७६ चैत ११ गतेबाट गरेको लकडाउन कोरोना संक्रमित संख्या बढेसँगै थपिँदै लगेको थियो । अहिले अन्य क्षेत्र खुलाएपनि स्कुल भने अझै बन्द छन् । यस्तो अवस्थामा बन्द रहेका शैक्षिक संस्थाहरू तत्काल खुल्ने संकेत देखिएको छैन ।

आन्दोलनका कार्यक्रम घोषणा

निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।नियमित तलबको माग र कर्मचारी कटौतीको विरोधमा शिक्षकहरूले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आइतबार आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । कार्यक्रम अनुसार ९ असोजमा सम्बन्धित पालिकाहरूमा ज्ञापनपत्र दिने, निजी तथा संस्थागत विद्यालय संगठन (प्याब्सन) र निजी तथा आवासीय विद्यालय एसोसियसन (एनप्याब्सन)का सबै तहमा स्मरण पत्र दिने बताएको छ ।यस्तै, ११–१३ असोजसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संशाधन विकास केन्द्र, श्रम मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा अल्टिमेटम् दिने र १५ असोजमा सबै महानगरपालिका र उपमहानगरपालिका धर्ना दिइने इस्टुका अध्यक्ष होमकुमार थापाले जानकारी दिए ।इस्टुले १८ असोजमा देशभरीका प्रमुख शहरहरूमा विरोध र्‍याली र कोणसभा गर्ने कार्यक्रम तय गरेको छ ।

९५ प्रतिशतले वैशाखयता पाएनन् पूरा तलब

देशभरीका करिब दुई लाख शिक्षक कर्मचारी मध्ये ९५ प्रतिशतले वैशाखयता पूरा तलब पाएका छैनन् ।इस्टुका अनुसार कतिपय विद्यालयहरूले शिक्षक–कर्मचारीहरूलाई अघिल्लो शैक्षिक सत्रको माघदेखि नै तलब भत्ता दिएका छैनन् । गत सालको चैत महिनासम्मको तलब नपाउने शिक्षक—कर्मचारीहरू ६० प्रतिशतको हाराहारीमा छन् ।कोरोनाका बेला अतिरिक्त क्रियाकलाप पढाउने शिक्षक, कर्मचारी, करार तथा आंशिक शिक्षक र कक्षा ११ र १२ पढाउने शिक्षकहरू बढी मारमा परेका छन् । महामारीका वावजुद सुरक्षा सतर्कता अपनाएर विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरू तयार रहेको जनाएको छ । अभिभावकसँग जबरजस्ती नगरी सल्लाह, सम्वाद, छलफलद्वारा शूल्कको उचित निकास निकाल्नु पर्ने उनीहरूको पहिलो माग छ ।२०७६ चैतसम्म तलब नदिएका संस्थागत विद्यालयहरूले आजका ७ दिनभित्र अनिवार्य तलब दिनुपर्ने, र २०७७ असोजको दोस्रो सातासम्ममा २०७७ असारसम्मको खाइपाई आएको सम्पूर्ण तलब भत्ता अनिवार्य भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ।

सरकार मौन

शिक्षक कर्मचारीको हकमा भने सरकार मौन बसेको उनीहरुको आरोप छ ।कोरोना संक्रमणका कारण गत चैत २६ गतेदेखि ‘लकडाउन’ भएपछि अहिलेसम्म स्कुल खुल्न सकेका छैनन्। बीचमा अनलाइन कक्षा चलाइरहेका यी स्कुलले ‘शुल्क’ लिन नपाएको भन्दै असार १ गतेदेखि कक्षा पनि बन्द गरेका छन्।कुनै कुनै स्कुलले आफै निर्णय गरेर कक्षा चालु राखे पनि शुल्कमा भने अझै विवाद छ। यता स्कुल कहिले खोल्नेरु भनेर सरकारले स्पष्ट भनेको छैन। संक्रमणको अवस्था हेरेर त्यसैअनुसार विद्यालयमा पढाइ गर्न सकिने बारेमा भने निर्देशिकाले केही सजिलो भने पारिदिएको छ।

कहिले खुल्छन् स्कुल ?

अब स्कुल कहिले खुल्छन् भन्ने जिज्ञासा भने सबैको मनमा छ तर कोरोनाले गर्दा यो कहिल्य सम्म हो भन्न सकिदैन् । पछिल्लो समय नेपालमा कोरोनाका संक्रमण बढ्दै जान थालेका छन् । यसमा पनि स्कुल सुचारु गर्न कठिन छ । सरकारले लकडाउन खुकुलो बनाए पनि अरु क्षेत्र खुलाएपनि स्कुल भने अझै बन्द छन् । यसको प्रभाव विद्यार्थी तथा शिक्षक लाई परेको छ ।विद्यार्थीको पढाइमा बाधा पुगेको छ भने शिक्षेकले पनि तलब पाउन सकेका छैन् । कोरोनाको अन्त्य त कहिले सम्म हो यो थाहा छैन । अबको विकल्प के यस बारे राज्यले सोच्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्