गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, करेन्ट लागेर सोलुखुम्बुमा वडाध्यक्षको ज्यान गयो

काठमाडौं, असोज ६ । गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा पैदल हिड्दै गरेका उनीहरुमाथि पहिरो खसेको थियो । बाटोमाथिबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।

पहिरोमा ६० वर्षका तिलक कुमाल घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए । उनको अवस्था समान्य रहेको छ । उनीहरु सोमबार साँझ आफन्तको घरमा पुजामा सहभागी भएर फर्किँदै थिए । सोही क्रममा बाटोमाथिबाट खसेको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो ।

उता करेन्ट लागेर सोलुखुम्बुमा वडाध्यक्षको मृत्यु भएको छ । माप्य दूधकोशी गाउँपालिका–५ का वडाध्यक्ष निमराज तामाङको निधन भएको छ । मंगलबार बिहान आफ्नै घरमा करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

प्रहरीका अनुसार मंगलबार बिहान ८ः३० बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर घाइते भएका तामाङको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो । स्थानीय तहको निर्वाचनमा उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्